काठमाडौं । जेनजी आन्दोलन उग्र बन्दै गएपछि प्रहरी नै निशानामा परेका छन् । आन्दोलनकारीले देशभरका प्रहरी चौकी र कार्यालयमा आक्रमण गरी आगजनी गरेपछि धेरै प्रहरी कार्यालय जलेर खरानी भएका छन् भने सुरक्षाकर्मीहरू आफ्नै अस्तित्व संकटमा परेको गुनासो गर्न थालेका छन् ।

आक्रमण र आगजनीका कारण प्रहरी चौकीभित्र रहेका महत्वपूर्ण कागजात, निवेदन, मुद्दा फाइलदेखि लिएर व्यक्तिगत सामग्री, ड्रेस, हतियार र सञ्चार सेटसम्म जलेर नष्ट भएका छन् । चौकी जोगाउन नसकेर ज्यान मात्र बचाउन सफल भएका प्रहरी अहिले आफन्तको घरमा शरण लिएर बस्न बाध्य भएका छन् ।

“हामीसँग अहिले एकसर लुगा बाहेक केही छैन । नागरिकता, एटीएम कार्ड, पैसा, ड्रेस सबै जलेर खरानी भयो । अहिले त हाम्रो अवस्था सुकुम्बासीभन्दा पनि खराब छ,” एक प्रहरी अधिकारीले भने । उनका अनुसार न त कार्यालय छ, न त आवश्यक कागजात, न त दैनन्दिन खर्चको स्रोत ।

प्रहरीहरूले आफ्नो मानसिक अवस्था पनि कमजोर बनेको गुनासो गरेका छन् । चौकी जलेपछि ‘बेखर्ची’ बनेका प्रहरीहरू फेरि काममा फर्कने कि कसरी भन्ने अन्योलमा छन् । “हामीसँग न ड्रेस छ, न कुनै आधिकारिक कागजपत्र । यस्तो अवस्थामा कसरी ड्युटीमा फर्कन सक्छौं ” अर्को प्रहरीको प्रश्न छ ।

प्रहरी कार्यालय र चौकी जलेसँगै प्रशासनिक कामसमेत ठप्प भएको छ । उजुरी, मुद्दा, कागजात सबै नष्ट भएपछि सुरक्षासँगै नागरिक सेवामा पनि असर परेको छ । आन्दोलित भीडले कब्जा गरेका चौकीबाट ड्रेस, हतियार र सेट निकालेर दुरुपयोग गरिरहेको भन्दै प्रहरीले सुरक्षा थप जोखिमपूर्ण बन्दै गएको बताएका छन् ।

सुरक्षाकर्मीहरूले उठाएको अर्को गुनासो हो—आन्दोलनकारीले कार्यालय जलाउँदा जनताकै सेवामा प्रत्यक्ष असर परेको छ । उनीहरूको भनाइमा, प्रहरीलाई कमजोर बनाउने प्रयास अन्ततः राज्यलाई कमजोर बनाउने षड्यन्त्र हो । “प्रहरी कमजोर पारेर को बलियो हुन्छ रु” एक वरिष्ठ प्रहरी अधिकृतले प्रश्न गरे, “जनताको सुरक्षामा खटिने अंग नै कमजोर पारिँदा आम नागरिक नै असुरक्षित बन्छन् ।”

विगतका राजनीतिक आन्दोलनमा पनि प्रहरी चौकी आक्रमणका घटना भए पनि यसपटकको लहर निकै व्यापक भएको सुरक्षाकर्मीहरूले बताउँछन् । “यसअघि चौकीमा ढुंगामुढा वा सामान्य क्षति पुग्ने गर्थ्यो, तर यसपटक कार्यालय नै खरानी पारिएको छ । यो आन्दोलन केवल सरकारविरुद्ध मात्र होइन, राज्यका सुरक्षा संयन्त्रविरुद्ध पनि गएको देखिन्छ,” एक प्रहरी निरीक्षकको भनाइ छ ।

प्रहरीका अनुसार हालसम्म जलेर खरानी भएका चौकी र कार्यालयहरूको संख्या बढ्दै गएको छ र धेरै ठाउँमा सेवा प्रवाह पूर्णरूपमा ठप्प भएको छ । कतिपय ठाउँमा प्रहरीलाई अस्थायी रूपमा स्थानीय निकायका भवन वा स्कुलमा बसालिएको छ भने कतिपय जिल्लामा प्रहरी आफन्तकै शरणमा पुगेका छन् ।

यो अवस्थाले आन्दोलनको असर केवल राजनीतिक मात्रै नभई सामाजिक र प्रशासनिक संरचनामा गहिरो घाउ बनाएको देखिएको छ । प्रहरी चौकी खरानी हुँदा मुद्दा दर्ता, नागरिक उजुरी र सामान्य सेवा प्रवाहमै अवरोध हुँदा सर्वसाधारण नै मारमा परेको छन् ।

नवीन नरसिंह नेपाली

लेखकको बारेमा

नवीन नरसिंह नेपाली

लेखकबाट थप

पत्रकार नेपाली कोशी टेलिभिजनका सम्पादक, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब)का केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन्। उहाँले खोज, राजनीति र समसामयिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन्।


प्रतिक्रिया!!

सम्बन्धित खबर