नेपाली कम्युनिस्ट आन्दोलनको विभिन्न धारहरूमध्ये झापा आन्दोलनबाट विकसित भएको एउटा धार अलि फरक र विशिष्ट थियो । त्यही फरकपनले गर्दा नै आजपर्यन्त यिनीहरू आन्दोलनको लगभग मूल प्रवाहमै छन् । यो शक्तिको आजको चरित्र र गुणवेत्तामा ठुलो प्रश्न उब्जिए पनि यिनीहरूको विराट उपस्थिति र ताकतलाई कसैले इन्कार गर्न सक्दैन । यो ताकत निर्माण गर्ने महाअभियानका मुख्य नेताहरूमा क्रमशः सीपी, झलनाथ, मदन र माधव नै हुन् तर पनि सबैभन्दा अग्लो उचाइमा कमरेड मदन पुग्नुभयो । यसका केही कारणहरू छन्, जसको चर्चा आज उहाँको जन्म जयन्तीको अवसरमा गर्नु अत्यन्त सामयिक हुन्छ ।
कमरेड मदनलाई सम्झँदा मानिसहरू मूल रूपमा जनताको बहुदलीय जनवादको प्रवर्तक भनेर मात्र सम्झन्छन् । तर उहाँको चर्चा गर्दा त्यतिले मात्र पुग्दैन । नेपाली धर्तीमा जबजको प्रादुर्भाव हुनुभन्दा पहिला नै उहाँको दूरदृष्टि र क्षमता प्रकट भइसकेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ, विशिष्ट र मौलिक प्रकारले सञ्चालन गर्नुपर्छ भन्ने सम्बन्धमा उहाँ सुरुदेखि नै सचेत हुनुहुन्थ्यो भन्ने कुरा तथ्यले देखाएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह एउटा ऐतिहासिक मोड हो । त्यो विद्रोह राजा र पञ्चायतका विरुद्ध मात्र थिएन, त्यो त नेपालको कम्युनिस्ट आन्दोलनको तत्कालीन नालायकी र त्यसबाट उत्पन्न भएको गुट, फुट, विभाजन र दिशाहीनताका विरुद्ध पनि थियो । यो ऐतिहासिक मोडलाई कमरेड मदनले नचिनेको भए उहाँसहित सामेल भएको मुक्ति मोर्चालाई २०३४ सालमै यो भँगालोमा मिसाउन सम्भव थिएन । उहाँको दूरदृष्टि यसबाट नै प्रमाणित हुन्छ ।

एकतापश्चात् पनि झापा विद्रोहको सकारात्मक पहलकदमीको रक्षा गर्दै त्यसभित्र व्यक्तिहत्यामार्फत प्रकट भएको उग्रवामपन्थी भड्कावलाई सच्याउन कमरेड मदनले ठुलो भूमिका खेल्नुभएको छ । त्यसो नगरिएको भए झापा विद्रोहको धार कलिलो मुनामै समाप्त हुन्थ्यो । यसरी क्रान्तिकारी दुस्साहसबाट सुरु भएको झापा विद्रोहलाई सचेतन वर्ग संघर्षमा आधारित क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउनुमा कमरेड मदनको ठुलो भूमिका छ ।
२०३९ सालमा क. झलनाथ खनाल महासचिव भएको सिंगो कालखण्डभरि राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने सवालमा पार्टी विभाजित भई नै रह्यो । राजा, पञ्चायत र बहुदलवादीलाई एउटै आँखाले हेर्ने राजनीतिक स्वतन्त्रता र वर्गीय आन्दोलनलाई कम आक्दै केवल पार्टी स्वतन्त्रतालाई मात्र प्रमुखता दिने त्यो पार्टी स्वतन्त्रताको लाइन त्यतिखेर समाधान भयो, जतिखेर कमरेड मदन महासचिव हुनुभयो । २०४६ भाद्रमा क. मदन महासचिव भएपछि वाममोर्चाको निर्माण र उक्त मोर्चाले पञ्चायतका विरुद्ध नेपाली कांग्रेससँग सहकार्य गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभयो, जुन सफल रह्यो र पञ्चायत ढल्यो । यो मामिलामा पनि कमरेड मदनको बुद्धिमतापूर्ण नेतृत्वको प्रशंसा गर्नुपर्छ ।
त्यसबाहेक बहुदल आएपछि पार्टीलाई भूमिगत राख्नुपर्छ र संयुक्त मोर्चाका नाममा चुनावमा जानुपर्छ भन्ने कुरा पार्टीमा जबर्जस्त ढंगले नउठेको होइन । अहिले यो मोडलको अभ्यास क. मोहनविक्रम सिंहले गर्दै हुनुहुन्छ तर यो तरिकालाई कमरेड मदनले अस्वीकार गर्नुभयो । त्यसो गरिएको भए आज यो धारको शक्ति जसरी विकास भएको छ, त्यो हुने थिएन । त्यस कारण यो सन्दर्भमा पनि कमरेड मदनको नेतृत्वलाई दिल खोलेर प्रशंसा गर्नुपर्छ ।
त्यति मात्र होइन पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट माओवाद हटाउनु, सोभियत संघलाई सामाजिक साम्राज्यवाद भन्न छाड्नु र पुँजीवादीसँग बहुदलीय प्रतिस्पर्धा गर्न तयार हुनुजस्ता अनेकौँ निर्णयमा कमरेड मदनले आफ्नो नेतृत्वलाई कुशलतापूर्वक स्थापित गर्नुभएको छ ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको घोषणापछि नयाँ संविधान निर्माणका क्रममा मुलुकभित्र र बाहिरका प्रतिक्रियावादीले संविधानलाई थप प्रतिगमनतर्फ मोड्न अनेकौँ प्रयत्न नगरेका होइनन्, तर क. मदन र क. माधवको लोभलाग्दो सहकार्य, एकता र समान धारणाले नेपालको संविधान २०४७ सम्भव भयो । यसका सन्दर्भमा केही कम्युनिस्ट उग्रपन्थीहरू नयाँ संविधानको विरुद्धमा उभिएका थिए । कमरेड मदनले तत्कालीन शक्ति सन्तुलनलाई बुझ्दै संविधानमा केही आलोचना र केही फरक मत जाहेर गर्दै स्वीकार गर्नुभयो । यसबाट के बुझ्न सकिन्छ भने कमरेड मदन तत्कालीन शक्ति सन्तुलनको परिस्थितिलाई राम्रोसँग बुझ्नुहुन्थ्यो ।
अब कुरा आउँछ, जनताको बहुदलीय जनवादको । नेपाली कम्युनिस्ट आन्दोलनको यो धारभित्र जबज कसरी विकसित भयो भन्ने सन्दर्भमा अलिकति हाम्रै देशको सन्दर्भ र अलिकति तत्कालीन विश्व परिस्थितिको कुरा गर्नुपर्छ ।
कम्युनिस्ट पार्टीको जन्मकालदेखि नै यिनीहरूको मूलधार कहीँ न कहीँ बहुदलीय व्यवस्था स्थापनाको मागमै केन्द्रित रहेको इतिहास छ । २०१५ सालको आमनिर्वाचनमा समेत कम्युनिस्ट पार्टीले भाग लिएर संसद्मा चार सिट विजय हासिल गरेको थियो । २०४६ को आन्दोलनको सफलता र नेपालको संविधान २०४७ को निर्माणमा समेत कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका भएकाले नेपालका कम्युनिस्ट बहुदलीय व्यवस्थाको विरुद्धमा जानै नसक्ने परिस्थितिमा थिए । अथवा यसको स्वामित्व लिन उनीहरू बाध्य थिए । जबजको पहिलो आधार यो थियो ।
त्यसबाहेक त्यो कालखण्डको विश्व परिस्थिति कम्युनिस्टका लागि अनुकूल थिएन । चीनमा भएको सन् १९८९ कोे तियानमेन स्क्वायर चोक विरोध प्रदर्शन, सन् १९८२ मा सोभियत संघको ल्गास्तोनस्त र पेरेस्त्रोइका नीति, सन् १९८९ मा ढलेको बर्लिनको पर्खाल र त्यसले निम्त्याएको पूर्वी युरोपका समाजवादी देशहरूको पतनलाई क. मदनले मसिनो गरी हेरिरहनुभएको थियो । जबज निर्माणमा तत्कालीन विश्व परिस्थिति दोस्रो कारण रह्यो ।
पार्टीले विवादास्पद व्यापारीसँग चन्दा लिनु हुँदैन भनेर फेसबुकमा स्टाटस लेख्दा कारबाही गर्ने अहिलेका एमाले अध्यक्षको उचाइ क. मदनको घुँडासम्म पुग्छ ? क. ओली मात्र होइन आफूसँग असहमत हुने बित्तिकै ‘टंक कार्की बनाइदिन्छु’ भन्ने कम्युनिस्ट नेताहरू अरु पनि हुनुहुन्छ ।
त्यति मात्र होइन संसारभर र नेपालमा समेत कम्युनिस्ट पार्टीहरूले जनवादी केन्द्रीयताको अपव्याख्या गर्दै पार्टी संगठनभित्र केही कम्युनिस्ट नेताको निरन्तर तानाशाही प्रवृत्ति देखिन्थ्यो । महाधिवेशनका नाममा केन्द्रीय कमिटी, केन्द्रीय कमिटीका नाममा पोलिटब्युरो र पोलिटब्युरोको नाममा पार्टी महासचिवको दादागिरी तोड्नैपर्ने थियो । यस्तो परिस्थितिमा पार्टीको महासचिव अत्यन्त शक्तिशाली भएर एक प्रकारको हुकुमी शासन नै चलिरहेको अवस्था थियो । त्यो तरिकामा क. मदन फेरबदल चाहनुहुन्थ्यो । त्यस कारण उहाँ पार्टीभित्र व्यापक लोकतान्त्रीकरणको पक्षमा उभिनुभयो । यो पनि जबज निर्माणको अर्को एउटा महत्त्वपूर्ण आधार हो ।
माथि उल्लिखित प्रमुख यी तीन कारणको सम्बोधन गर्ने क्रममा जनताको बहुदलीय जनवाद जन्मियो । जसको कुशल अगुवाइ कमरेड मदनले गर्नुभयो, त्यसकारण क. मदनलाई जबजको प्रर्वतकको रूपमा हामी मान्छौँ र सम्मान गर्छौं ।
यसका सन्दर्भमा कमरेड मदनको आशय थियो, ‘जनमतको आदेशमा राजकीय सत्ता, कार्यकर्ताको आदेशमा पार्टी सत्ता ।’ आफ्नै संगठनलाई लोकतान्त्रीकरण गर्न नसक्ने कम्युनिस्टहरूलाई राज्यको लोकतान्त्रीकरणको माग गर्ने कुनै अधिकार छैन भन्ने विचारमा उहाँ दृढ हुनुहुन्थ्यो । यसका सन्दर्भमा जबजका प्रमुख १४ विशेषता सूत्रवद्ध गर्नुभयो, जुन देशभित्र मात्र होइन देशबाहिर पनि लोकप्रिय भयो । त्यस कारण त न्युजविकजस्ता पुँजीवादी पत्रिकाले समेत जहाँ मार्क्स जीवित छन भनेर उहाँको फोटोसहितको अन्तर्वार्ता छाप्न बाध्य भए ।
पार्टीभित्रको लोकतान्त्रीकरण र जबज कुरा गरिरहँदा यसैको फेरो समातेर केही मान्छेहरूले पार्टीलाई बुर्जुवाकरण गर्न सक्छन् भन्ने कुरामा क. मदन बढो सचेत हुनुहुन्थ्यो । त्यसकारण त उहाँले बारम्बार भन्नुभयो, जबज भनेको अरु केही होइन, सार त नै नौलो जनवाद नै हो । अर्थात् यो सामन्तवाद विरोधी कार्यक्रम हो । उहाँले जबजलाई कहिल्यै पनि मार्ग निर्देशक सिद्धान्त भन्नुभएन । तर सदाकाल जबज विरोधीको रूपमा ख्यातिप्राप्त गर्नुभएका क. झलनाथ खनाल महासचिव हुँदै गर्दा पार्टीको आठौँ महाधिवेशनले यसलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा स्वीकार गर्यो ।
वास्तवमा क. मदनले भनेझैँ जबज भनेको सार त सामन्तवाद विरोधी कार्यक्रम हो भनेर मान्ने हो भने र २०६२/६३ को जनक्रान्ति पुँजीवादी क्रान्ति हो भनेर स्वीकार गर्ने हो भने अब जबजले भनेझैँ सामन्तवादविरोधी अभियान सकियो । आज राजकीय सत्ता र अर्थतन्त्रको चरित्रमा पुँजीवाद छ । अथवा अब क्रान्तिको दुश्मन पुँजीवाद हो, सामन्तवाद होइन भन्न सक्नुपर्छ । यतिखेर प्रश्न उठिरहेकै छ, सामन्तवाद विरोधी कार्यक्रमले पँुजीवाद ढाल्न सक्छ ? आज क. मदन हुनुभएको भए के गर्नुहुन्थ्यो ? उहाँको विलक्षण प्रतिभा र सुझबुझपूर्ण निर्णय गर्ने क्षमतालाई ध्यानमा राख्ने हो भने निर्धक्क भन्न सकिन्छ, कमरेड मदनले नभएको सामन्तवाद खोज्नुहुँदैनथ्यो । पुँजीवादसँग जुध्ने नयाँ कार्यक्रम सूत्रबद्ध गर्दै समाजवादको झन्डा उचाल्नुहुन्थ्यो । मुलकभित्रको कुशासन, बेरोजगारी र अव्यवस्थाको जड पुँजीवाद हो भन्नुहुन्थ्यो ।
आज उहाँले नेतृत्व गर्नुभएको पार्टी एकीकृत समाजवादी र एमालेका नाममा विभाजित छ । के यी दुवै पार्टीहरू क. मदनको सोच्ने तरिकालाई पछ्याउँदै सञ्चालित छन् ? यो पंक्तिकार निर्धक्क भन्छ, छैन । ‘कसैलाई पार्टीको नेतृत्व गर्ने मन छ भने अझै २५ वर्ष पर्खनोस् ।’ यो भाषा जबजसम्मत हो ? आफ्नै पूर्वनेताको नाम लिँदा कुल्ला गर्नुपर्छ भन्ने र समाजवादी नेताहरूलाई पुँजीवादी अदालतमा झुटा मुद्दा लगाउने प्रवृत्तिले क्रान्तिको सेवा गर्छ कि प्रतिक्रियावादीको ? त्यस कारण कमरेड मदनलाई सम्झँदै मुठी उठ्याएर अब क्रान्तिकारीले भन्नैपर्छ, ‘तिम्रा दूषित हातहरूले क. मदनको फोटो र जबजको ब्यानरलाई नछोऊ !’ अनि मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहर्छ ।
क. मदनले पार्टीभित्रको लोकतान्त्रीकरण र फरक मतप्रति कति सम्मान गर्नुहुन्थ्यो भन्ने पार्टीको पाँचौँ महाधिवेशनको उदाहरण दिए पुग्छ । पाँचौँ महाधिवेशनमा कमरेड मदनको राजनीतिक दस्ताबेज र जबजको कार्यक्रमप्रति क. मनमोहन, क. सीपी र क. झलनाथ खनाल सहमत हुनुभएन । पार्टी महाधिवेशन हलमा क. मदनको प्रचण्ड बहुमत थियो । तर उहाँले आफूसँग असहमत क. मनमोहनलाई अध्यक्ष मान्न तयार हुनुभयो । त्यति मात्र होइन, क. सीपी र क. झलनाथलाई पनि आफ्नै कमिटीमा सम्मानजनक ठाउँ दिनुभयो । यो स्तरको चेतना अहिलेका शीर्ष नेताहरूमा छ ?
पार्टीले विवादास्पद व्यापारीसँग चन्दा लिनु हुँदैन भनेर फेसबुकमा स्टाटस लेख्दा कारबाही गर्ने अहिलेका एमाले अध्यक्षको उचाइ क. मदनको घुँडासम्म पुग्छ ? क. ओली मात्र होइन आफूसँग असहमत हुने बित्तिकै ‘टंक कार्की बनाइदिन्छु’ भन्ने कम्युनिस्ट नेताहरू अरु पनि हुनुहुन्छ । त्यति मात्र होइन क. मदन पुँजीवादीलाई बलपूर्वक निषेध गर्ने होइन, विचारधारात्मक संघर्षबाट पराजित गरेर जनमतबाट पन्छाउनुपर्छ भन्नुहुन्थ्यो । त्यसकारण त उहाँ बहुदलीय व्यवस्थाका पक्षमा उभिनुभयो । त्यसबाहेक एउटा मुलुकमा एकभन्दा बढी पुँजीवादी पार्टी भएझैँ कम्युनिस्ट पार्टीहरू पनि एकभन्दा बढी हुन सक्छन् भन्ने मान्यता राख्नुहुन्थ्यो । आज उहाँकै फोटोमुनि जबजकै ब्यानर टाँगेर बलिया दुई राष्ट्रिय पार्टी बनाउने पक्षमा वकालत भइरहेको छ । बलियो वामपन्थी पार्टी होइन बलियो राष्ट्रिय पार्टी बनाउने पक्षमा उनीहरू छन् । के यी मान्छेहरू साँच्चिकै मदनका अनुयायी हुन् ? त्यस कारण कमरेड मदनले भन्नु भएझैँ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्ने विचारबाट उहाँकै सहकर्मीहरूमा ठुलो विचलन आएको देखिन्छ ।
कमरेड मदनको जन्मजयन्तीको यो अवसरमा उहाँसँग क्षमा माग्दै हामीले भन्नुपर्छ, ‘कमरेड ! तपाईंले नेतृत्व गर्नुभएको पार्टी विभाजित मात्र होइन, बरालिएको पनि छ ।’ किनकि हामी सबैलाई थाहा छ, आजको राज्य व्यवस्था र अर्थतन्त्रको चरित्र पुँजीवादी होे तर यही व्यवस्थाभित्र क. मदनका अनुयायी सुखी नेपाली र समृद्ध नेपाल खोज्दै छन् । यो ढाँट कुरा हो । पुँजीवादी व्यवस्थाले मान्छेलाई सुखी र मुलुकलाई समृद्ध बनाउने भए समाजवादी क्रान्ति किन चाहियो ? यस्तो नारा मान्छेको समाजवादी चाहनालाई बर्गल्याउने मात्र होइन पुँजीवादसँग सरासर गरिएको आत्मसर्मपण पनि हो ।
पूर्वी युरोपमा एकपछि अर्को समाजवादी सत्ता ढलिरहँदा संसारका कैयौँ कम्युनिस्ट नेताहरूले आफूलाई बुर्जुवाकरण गरे । तर कमरेड मदन गर्जनुभयो, ‘पुँजीवादी स्यालहरूले जतिसुकै स्याल हुइँया गरे पनि हामीभिजेको कुकुरझैँ कुना पस्ने वाला छैनौँ, हामी हँसिया–हथौडा उचालेरै तिमीहरूसँग राजनीतिक प्रतिस्पर्धा गर्न तयार छौँ ।’ आज एकजना लफङ्गाले सामाजिक सञ्जालमा ‘पार्टीका झोलेहरू’ भन्यो भन्दैमा सिङ्गो कम्युनिस्ट कार्यकर्तालाई ‘म झोले हँु’ भन्न बाध्य बनाउने नेतृत्वले मदनको फोटोमुनि उभिएर भाषण गर्न सुहाउँछ ? पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा जबजको प्राण हो । आन्तरिक प्रतिस्पर्धालाई रोक्न उहाँकै हिजोका सहयात्री कम्मर कसेर लागेको देखिँदैन र ? यसरी जबजको हुर्मत लिइरहेको आजको अवस्थामा नेपालका क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ता झन् उहाँलाई सम्झिरहेका छन्, अभाव महसुस गर्दै छन् ।
उहाँलाई सम्झने भनेको उहाँलाई पछ्याउने हो । त्यसकारण उहाँले जस्तै गरी हामीले पनि हाम्रो वस्तुगत परिस्थितिको सही विश्लेषण गर्दै हाम्रा नीति, विचार र सिद्धान्तहरू व्यवहारमा परीक्षण गर्दै अगाडि बढ्नुपर्छ । त्यति मात्र होइन क. मदनले उचाल्नुभएको झन्डा र चिह्नहरू कमल थापाहरूले नबिटोलुन् भनेर सचेत हुनपर्छ । जस्तोसुकै कठिन परिस्थितिमा पनि हामी समाजवादी हौँ भनेर गौरव गर्नुपर्छ । झोले त किमार्थ बन्नु हुँदैन । कमरेड मदनको ७४औँ जन्मजयन्तीको यो अवसरमा उहाँको सोच्ने तरिकाको अनुशरण गरौँ । यो चेतना सबैमा जागोस् । हार्दिक श्रद्धाञ्जली कमरेड मदन ! हामी समाजवादी हौँ, हामी तपाईंलाई सदा पछ्याउने छौँ ।






