वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आईतवार सानेपामा आयोजना गरेको ‘वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका कारणले घटेका घटनाहरूलाई स्पष्ट रूपमा सचेत गराएको बताउँदै अब प्रतीक्षा गर्ने समय नरहेको बताउनु भयो । उहाँले हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदै गएको र भविष्यमा यो अझै भयावह हुने अवस्थामा रहेको जिकिर गर्नुभयो । उहाँले ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा रहेको जानकारी दिनुभयो । मन्त्री ठकुरीले गत वर्ष थामेमा भएको हिमताल विस्फोट, दोधारा चाँदनी र काठमाडौं उपत्यकामा वर्षाले निम्त्याएको बाढी पहिरो, जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा भएको हिमताल विस्फोट जस्ता घटनाहरू जलवायु सङ्कटका चेतावनी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “मुलुक भरका हिमाल, पहाड र तराइ मधेससम्म जलवायु सङ्कट प्रत्यक्ष देखिँदैछ र भविष्यमा अझै यो भयावह हुने अवस्थामा छ । हिमालहरू खतरामा छन् । ४७ वटा खतराजन्य हिमालहरूमध्ये २१ वटा उच्च जोखिममा छन् । सगरमाथाको क्षेत्रमा थामेमा गत वर्ष हिमताल विस्फोटले पारेको क्षतिको एक महिना अघि म आफैँ गएर हेर्ने मौका पाएको थिए । दोधार चाँदनीमा भएको वर्षात्, काठमाडौं उपत्यकामा आएको वर्षात्ले निम्त्याएको बाढी,पहिरो र डुबान र जेठ २ गते हुम्लाको लिमी क्षेत्रको तिला गाउँमा गएको विस्फोटजन्य तालको कारणले भएको बाढी पहिरो यी सबै जलवायु सङ्कटका चेतावनी हुन् । यी घटनाहरूले हामीलाई स्पष्ट रूपमा सचेत गराउँछन् कि अब प्रतीक्षा गर्ने समय छैन । जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नु अति आवश्यक भइसकेको छ ।”

जलवायु सङ्कटले मानव स्वास्थ्यमा मात्र नभएर खाद्य सुरक्षालाई नै खतरामा पार्दै गइरहेको बताउनु भयो । – न्युज एजेन्सी नेपाल

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर