राजविराज– उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै पत्रकार दिनेश शर्मालाई‘घरैबाट उठाउने’ धम्की दिएका छन्।

नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा पत्रकार शर्माको‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडीमा फोटोसहित स्ट्याटस लेखेको विषयमा मेयर कार्कीले धम्की दिएका हुन। ‘तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु’ उनले भनेका छन्–‘तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’

मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन। उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसवकुमा हालेको विषयमा उनले यसरी आक्रोश पोखेका हुन। श्रीमतीको नाम जोडेकोमा उनको आपत्ति छ।

यस विषयमा वेलका नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसँग वुझ्न खोज्दा उनको ९८५२८२९०१९ नम्बरको मोवाईल स्विचअफ छ। नगरपालिका सूचना अधिकारी सञ्जय रेग्मीले भने सरकारी गाडी ब्यक्तिगत प्रयोगका लागि अरु कसैले प्रयोग गर्न नपाईने वताउँदै कार्यालय समयभन्दा अन्य समयमा प्रयोग गर्नै पर्ने भए पासको ब्यवस्था गरिएको जानकारी दिए।

तर, त्यो दिन मेयरको गाडी कसरी त्यहाँ पुग्यो र कुन प्रयोजनका लागि गयो भन्ने आफुलाई जानकारी नभएको रेग्मीको भनाई छ। उनी भन्छन्–‘मेयरलाई हामीले आदेश गर्ने र नियन्त्रण गर्न सम्भव नभएकाले पनि हो।’

उदयपुरका सीडीओ हरिप्रसाद घिमिरेले सरकारी गाडी प्रयोगको विषयमा हरेक स्थानीय तहलाई सर्कुलर नै जारी गरिएको र गाडी दुरुपयोग भएको विषयमा सवैले आवाज उठाउन पाईने वताए। यद्यपी गाडी दुरुपयोग भएको र ‘उठाउँछु’ भनेको विषयमा आफुले मेयरसँग कुरा गर्ने बताए।

डन शैलीमा ‘घरबाटै उठाउने’ धम्की दिने मेयर कार्की नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन। स्थानीय तहमा विकास निर्माणका काम गर्न नसकेको भन्दै अहिले सामाजिक सञ्जालमा ब्यापक विरोध हुने गरेको छ।

केही समयअघि कर्मचारी नियुक्तिको विषयलाई लिएर पनि कार्की विवादमा तानिएका थिए। परिक्षा लिएर नाम निकालेको ब्यक्तिकै नाम र ठेगाना भएको अर्को ब्यक्तिलाई कर्मचाीको रुपमा हाजिर गएको विषयमा स्थानीयले उनको कार्यालयमा तालावन्दी समेत गरेका थिए। हाजिर गराईएका ब्यक्ति परिक्षामा समेत सहभागि भएका थिएनन्।

यतिमात्रै होईन, सरकारी सुविधाको पेट्रोल दुरुपयोग गरेको विषयमा समेत उनको चर्को आलोचना भएको थियो। सामाजिक सञ्जालमै नागरिकले त्यसको विरोध गरेका थिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर