काठमाडौँ, मंसिर २७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको दाबी गर्दै देश बनाउने शक्ति र देश जलाउने शक्तिबीचको संघर्ष निर्णायक चरणमा पुगेको बताएका छन्।
भक्तपुरमा सुरु भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘लोकतन्त्र अजेय छ र नेकपा (एमाले) अजम्बरी छ’ भन्ने सन्देश स्पष्ट रूपमा दिएका हुन्।

तीन महिनाअघि देश युद्धभूमि जस्तै बनेको स्मरण गर्दै उनले संविधान, लोकतन्त्र र राजनीतिक दलहरूलाई समाप्त पार्ने खालको भाष्य निर्माण गर्ने प्रयास भएको उल्लेख गरे। ‘धुँवा, खरानी र निषेधका सबै प्रहार चिर्दै आज यहाँ देखिएको जनसागरले प्रमाणित गरेको छ— लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ,’ ओलीले लिखित भाषणमा उल्लेख गरे।
उनले भदौ २३ र २४ गते भएका घटनालाई सामान्य असन्तुष्टि नभई राज्यका तीनै अंगमाथि गरिएको गम्भीर षड्यन्त्रको रूपमा व्याख्या गरे। राष्ट्रपति भवनदेखि संसद, अदालत, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाटले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्रलाई निशाना बनाइएको ओलीको आरोप थियो।
‘त्यो महाविनाश न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ,’ उनले भने, ‘घटनाको छानबिन होस्, दोषी पहिचान होस् र अपराधीले कानुनी सजाय पाऊन्।’
अध्यक्ष ओलीले थप क्षति नहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको उल्लेख गर्दै अनधिकृत सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए। उनले प्रतिनिधिसभा तत्काल पुनःस्थापना गरी देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउनुपर्ने आवश्यकता दोहोर्याए।
युवा पुस्ताबारे बोल्दै अध्यक्ष ओलीले एमाले ‘जेनेरेशन–जेड विरोधी’ नभएको स्पष्ट पारे। प्रविधि, स्टार्टअप, सीप विकास, डिजिटल नेपाल र कृत्रिम बौद्धिकता (एआई) नीतिलाई प्राथमिकतामा राखेको पार्टी युवाविरोधी हुन नसक्ने तर्क गर्दै उनले युवालाई भ्रममा नपर्न आग्रह गरे। ‘असहमति राख्नुस्, आलोचना गर्नुस्, तर लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्व कमजोर पार्ने बाटोमा नजानुस्,’ उनले भने।
महाधिवेशनलाई एकता र लोकतान्त्रिक अभ्यासको उदाहरण बनाउने आह्वान गर्दै अध्यक्ष ओलीले एमालेको शक्ति एकतामा रहेको उल्लेख गरे। ‘एघार भनेको एउटै दिशामा उभिएका एक–एक हो,’ उनले भने, ‘एक एमालेले अर्को एमालेसँग हात मिलाउँदा मात्रै हामी बलियो एघार बन्छौँ।’
अन्त्यमा उनले सबै राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र आम नागरिकलाई संविधान, लोकतन्त्र र राष्ट्रिय एकताको रक्षा गर्न सहकार्यका साथ अघि बढ्न आह्वान गरे।






