एसपी यादव/सर्लाही, कात्तिक २१ गते । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थित चुरियामाई मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीका एक युवकको मृत्यु भएको छ भने रौतहटका मोटरसाइकल चालक सख्त घाइते भएका छन् ।

बिहीबार साँझ करिब ५ः३५ बजे वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड गरिएको ट्रकले हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २-०३-००९ प ७९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका-३ निवासी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल हेटौँडा पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले साँझ ६ः३९ बजे ईसीजी परीक्षणपछि उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै, मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका-७ नयाँ बस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास सख्त घाइते भएका छन् । दुर्घटनामा उनको दुवै खुट्टा भाँचिएको तथा हात र मुखमा समेत चोट लागेको प्रहरीले जनाएको छ । उनको मकवानपुरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ट्रक र ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ कमाने निवासी अन्दाजी ३० वर्षीय दीपक घलेलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृतक निराजन यादवको शुक्रबार पोस्टमार्टमपछि परिवारले शव बुझेर सर्लाही ल्याई दाहसंस्कार गरेको मृतकका मामा मनोजकुमार रायले जानकारी दिएका छन् ।

पढाइमा अब्बल रहेका मृतक निराजन यादव काठमाडौँमा एमबीबीएस अध्ययनका लागि तयारी गर्दै आएका थिए । कात्तिक १९ गते बिहीबार दीपावली तथा छठ पर्व मनाउन उनी रौतहटका साथी नन्दकिशोर दाससँगै गृहजिल्ला सर्लाही आउँदै थिए । काठमाडौँबाट निराजन आफैँले मोटरसाइकल चलाएर हेटौँडासम्म ल्याएका थिए भने हेटौँडाबाट उनका साथी नन्दकिशोरले मोटरसाइकल चलाएका थिए । सोही क्रममा बाराको चुरियामाई मन्दिर नजिकै भएको दुर्घटनामा निराजनको ज्यान गएको हो ।

गाउँकै एक होनहार युवा गुमाउनुपर्दा सिंगो गाउँ शोकमा डुबेको छ । मृतक यादवको अन्तिम दर्शनका लागि गाउँलेहरूको ठूलो भीड लागेको थियो । उनको असामयिक निधनले परिवार, आफन्त र गाउँलेहरू स्तब्ध भएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर