एसपी यादव/सर्लाही, कात्तिक १८ गते । सर्लाही सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक नायव सुब्बा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार भूमि प्रशासन कार्यालय मलंगवाको मोही फाँटमा कार्यरत नायव सुब्बा निर्मल तिमिल्सिनालाई घुस रकमसहित पक्राउ गरेको हो ।

आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार, तिमिल्सिनाले एक सेवाग्राहीलाई जग्गाको मोहीसम्बन्धी निर्णय गराइदिने भन्दै एक लाख रुपैयाँ घुस मागेको सूचना आयोगमा पुगेको थियो । प्राप्त सूचनाका आधारमा आयोगको टोलीले निरन्तर निगरानी गर्दै बुधबार स्टिङ अपरेसन सञ्चालन गरेको थियो ।
अपरेसनका क्रममा तिमिल्सिनालाई माग गरिएको एक लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए ।
पक्राउपछि आयोगको टोलीले उनलाई कार्यालय परिसरमै राखेर आवश्यक सोधपुछ, अनुसन्धान तथा घटनास्थल मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाएको छ ।
यसअघि गत असोज २१ गते राति पनि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मलंगवा नगरपालिकामा घुस प्रकरणमा कारबाही गरेको थियो । उक्त टोलीले नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको थियो ।
सर्लाहीमा आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरूमा अनियमितता, सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा घुसबिना काम नहुने प्रवृत्तिबारे गुनासो बढिरहेका बेला अख्तियारको पछिल्लो कारबाहीले जिल्लाको सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारको अवस्थालाई पुनः चर्चामा ल्याएको छ ।
छोटो अवधिमै जिल्लाका दुई सरकारी कार्यालयमा अख्तियारले स्टिङ अपरेसन सञ्चालन गरी कर्मचारीलाई पक्राउ गरेपछि सरकारी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नुपर्ने आवश्यकता थप उजागर भएको छ ।






