एसपी यादव/सर्लाही, असोज २९ गते । सर्लाहीमा १३२ केभी क्षमताको उच्च भोल्टेज विद्युत् प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया किशोरीको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा सुरक्षित उद्धार गरिएको छ ।
कबिलासी नगरपालिका-२ स्थित पिपरया गाउँबाट करिब ६०० मिटर पूर्व रहेको १३२ केभी विद्युत् प्रसारण लाइनको टावरमा चढेकी कबिलासी नगरपालिका-७ सिरसिया निवासी विसुन माझीकी १७ वर्षीया छोरी राधे माझीको बिहीबार साँझ सुरक्षित उद्धार गरिएको हो । 

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, किशोरी बिहीबार अपराह्न करिब ४ः३३ बजे टावरमा चढेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा परिचालित भएको थियो ।
उच्च भोल्टेज विद्युत्का कारण हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी विद्युत् लाइन काटिएको थियो । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा किशोरीलाई सुरक्षित रूपमा टावरबाट तल झारिएको हो ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार, किशोरीको पछिल्लो एक-दुई महिनादेखि मानसिक अवस्था सामान्य नरहेको बताइएको छ । घटनाबारे जानकारी पाएपछि उनका आफन्त तथा परिवारका सदस्यसमेत घटनास्थलमा पुगेका थिए ।
उच्च जोखिमयुक्त विद्युत् प्रसारण लाइनको टावरमा किशोरी चढेपछि सम्भावित दुर्घटना रोक्न सुरक्षा निकायले तत्काल उद्धार अभियान सञ्चालन गरेका थिए । करिब ४ घण्टाको संयुक्त प्रयासबाट किशोरीको सुरक्षित उद्धार भएपछि सम्भावित ठूलो दुर्घटना टरेको छ ।






