एसपी यादव/सर्लाही, असोज २१ गते । जिल्लाको मलंगवा नगरपालिकामा कार्यरत एक इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाका इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई सेवाग्राहीबाट घुसबापत लिएको १ लाख रुपैयाँसहित रङगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा दुःख-हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

सोही क्रममा अख्तियारको टोलीले उनीहरूलाई मंगलबार राति मलंगवा नगरपालिकाबाट १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ गरेको हो ।

अख्तियारले नियन्त्रणमा लिएका दुवै जनासँग स्रोत नखुलेको थप ३३ हजार ७ सय ५ रुपैयाँ समेत बरामद भएको जनाएको छ ।

बुधबार विशेष अदालतको आदेशबाट म्याद थप गरी उनीहरूविरुद्ध घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता न्यौपानेले जनाएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर