एसपी यादव/सर्लाही, असोज २९ गते । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सर्लाही प्रहरीले ८०३ जना प्रहरी परिचालन गरेको छ । जिल्लाका १२७ स्थानमा दुर्गापूजाका मेला लाग्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले बुधबार चाडपर्व सुरक्षा व्यवस्था तथा प्रहरी गतिविधिसम्बन्धी पत्रकार भेटघाट र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी सुरक्षा तयारीबारे जानकारी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव, सामाजिक एकता, धार्मिक सहिष्णुता र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्दै यस अवधिमा थप शान्ति सुरक्षा कायम गर्नु प्रहरीको महत्त्वपूर्ण दायित्व भएको बताएका छन् । उनले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउनुका साथै प्रहरीको सक्रियता बढाइएको जानकारी दिएका छन् ।
एसपी पौडेलका अनुसार, सर्लाही जिल्लामा दुर्गापूजाका मेला लाग्ने स्थान १२७ वटा छन् । ती स्थानमा शान्ति सुरक्षा कायम गर्न कमान्ड पोस्ट, सादा पोसाकमा प्रहरी परिचालन, पिकेट, यात्रु सहायता कक्ष, रिजर्भ टोली, सीमावर्ती ड्युटी, अनुगमन तथा परिचालन, मोबाइल गाडी, क्यूआरटी, राजमार्ग ड्युटी, स्ट्राइकिङ टोली र पैदल गस्तीलगायतका माध्यमबाट ८०३ जना प्रहरी खटाइएको छ ।
चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन कार्यान्वयनमा ल्याइएको विशेष सुरक्षा योजनाअन्तर्गत संवेदनशील क्षेत्रको निगरानी, धार्मिक सद्भावको संरक्षण, मूर्ति विसर्जन तथा शोभायात्राको व्यवस्थापन, छठ घाटको सुरक्षा, सीमावर्ती क्षेत्रको निगरानी, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, सूचना सङ्कलन तथा अफवाह नियन्त्रणलाई प्राथमिकता दिइएको उनले बताए ।
त्यसैगरी, सरोकारवाला निकायबीच समन्वय र द्रुत प्रतिकार्य, यात्रु सहायता कक्ष सञ्चालन, सवारी दुर्घटना न्यूनीकरण, पटाका तथा आगलागी नियन्त्रण र बजार अनुगमनमार्फत उपभोक्ताको सुरक्षा सुनिश्चित गर्नेसमेत योजना रहेको पौडेलले जानकारी दिए ।
२०८३ जेठदेखि असोजसम्मको पाँच महिनाको प्रहरी गतिविधि
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको संख्यात्मक विवरणअनुसार, २०८३ जेठदेखि असोजसम्मको पाँच महिनाको अवधिमा सर्लाही जिल्लामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल ५८१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३३३ वटा मुद्दा फर्छ्योट भएका छन् भने २४८ वटा मुद्दा फर्छ्योट हुन बाँकी छन् । दर्ता भएका मुद्दामध्ये ज्यानसम्बन्धी कसुरका २७, आत्महत्यासम्बन्धी ७५, चोरीसम्बन्धी ५२, सङ्गठित तथा आर्थिक अपराधका ५६, सामाजिक अपराधका १५०, महिला तथा बालबालिकासम्बन्धी अपराधका ३३, सवारी ज्यानसम्बन्धी २२ र अन्य प्रकृतिका १६६ वटा रहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार, मुद्दाको सङ्ख्याका आधारमा अन्य प्रकृतिका अपराध सबैभन्दा बढी छन् । त्यसपछि सामाजिक अपराध दोस्रो र आत्महत्यासम्बन्धी घटना तेस्रो स्थानमा रहेका छन् । उक्त तथ्याङ्कले जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान तथा सामाजिक सुरक्षा कायम गर्न निरन्तर सक्रियता र प्रभावकारी पहल आवश्यक रहेको देखाउँछ ।
जिल्लामा जघन्य तथा गम्भीर अपराधतर्फ कुल १४ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यानसम्बन्धी कसुरका ५ र हातहतियारसम्बन्धी ९ वटा मुद्दा रहेका छन् ।
त्यसैगरी, आर्थिक अपराधतर्फ कुल ६६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये बैंकिङ कसुरसम्बन्धी ५१, जुवाताससम्बन्धी १, ठगीसम्बन्धी ११ र मुद्रासम्बन्धी ३ वटा मुद्दा रहेका छन् ।
फैसला कार्यान्वयनतर्फ ३४९ जना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउ गर्ने क्रममा प्रहरीले पाँच महिनाको अवधिमा ३४९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीबाट २५४ वर्ष ११ महिना १५ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ७८ लाख १६ हजार ४९२ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ । त्यसैगरी, जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका ५ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको छ ।
लागूऔषध नियन्त्रणमा ३५ मुद्दा, ४३ जना पक्राउ
लागूऔषध नियन्त्रण तथा कारबाहीतर्फ कुल ३५ वटा मुद्दा दर्ता भएका छन् । यस क्रममा प्रहरीले २ हजार १२६.७६२ किलोग्राम गाँजा, १३०.१८० मिलिग्राम खैरो हेरोइन र ४ हजार २४६ पिस औषधिजन्य लागूऔषध बरामद गरेको छ । लागूऔषधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा ४३ जनालाई पक्राउ गरिएको छ ।
गाँजा फडानी अभियानअन्तर्गत प्रहरीले १५ हजार गाँजाका बोट नष्ट गरेको छ । तीन कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गर्न ५६ जना प्रहरी परिचालन गरिएको थियो ।
त्यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा ढुङ्गा, गिट्टी र बालुवा ओसारपसारमा प्रयोग गरिएका २५ वटा ट्याक्टरमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट १ लाख ७३ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
भन्सार छलीका सामानसहित २४ जना पक्राउ
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामानसहित २४ जनालाई पक्राउ गरिएको छ । यस क्रममा ८ वटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै अन्दाजी २ करोड १६ लाख १७ हजार ५४३ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ । त्यसैगरी, राजस्व छलीसम्बन्धी अर्को कारबाहीका क्रममा ३ वटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै अन्दाजी ६६ लाख ४३ हजार ७१८ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ । दुवै कारबाहीबाट कुल अन्दाजी २ करोड ८२ लाख ६१ हजार २६१ रुपैयाँ मूल्य बराबरका सामान बरामद गरिएको छ ।
अवैध वन पैदावारको चोरी-पैठारी नियन्त्रणका क्रममा ३ जनालाई पक्राउ गरिएको छ । यस क्रममा ८ वटा सवारीसाधन नियन्त्रणमा लिनुका साथै ४७३ थान काठका गोलिया बरामद गरिएको छ । उक्त कारबाहीबाट ५ लाख ३४ हजार ८७९ रुपैयाँ राजस्व तथा जरिवाना सङ्कलन गरिएको छ ।
अवैध हातहतियार र गोली बरामद
अवैध हातहतियार तथा गोलीगट्ठासम्बन्धी कारबाहीका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । यस क्रममा ४ थान अवैध हातहतियार र ४ राउन्ड गोली बरामद गरिएको छ ।
त्यसैगरी, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत १ हजार १२५ लिटर मदिरा बरामद गरिएको छ ।
हराएका १८५ जनामध्ये १६७ जना फेला
हराएका तथा फेला परेका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकको विवरणअनुसार, पाँच महिनाको अवधिमा कुल १८५ जना हराएको अभिलेख रहेको छ । तीमध्ये ७७ जना महिला, १० जना बालक, ८९ जना बालिका र ९ जना ज्येष्ठ नागरिक पुरुष रहेका छन् । हराएकामध्ये ६८ जना महिला, ७ जना बालक, ८५ जना बालिका र ७ जना ज्येष्ठ नागरिक पुरुष गरी कुल १६७ जना फेला परेका छन् । अझै १८ जना फेला पर्न बाँकी रहेका छन् । फेला पर्न बाँकी व्यक्तिहरूको खोजतलास कार्य निरन्तर जारी रहेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले जनाएका छन् ।
विष सेवन र झुन्डिएर मृत्युका घटना
विष सेवनबाट मृत्यु भएका घटनासम्बन्धमा जिल्लामा १२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा ८ जना पुरुष र ४ जना महिला रहेका छन् ।
त्यसैगरी, झुन्डिएर मृत्यु भएका घटनासम्बन्धमा ८५ वटा मुद्दा दर्ता भएका छन् । ती घटनामा ३२ जना पुरुष, २८ जना महिला, १५ जना बालक र १० जना बालिका रहेका छन् ।
नागरिकतासम्बन्धी १ हजार ४५३ मुचुल्का तयार
नागरिकता, हातहतियार नवीकरण तथा अन्य कागजातसम्बन्धी प्रयोजनका लागि प्रहरीले कुल १ हजार ५१६ वटा मुचुल्का तयार गरेको छ । तीमध्ये नागरिकतासम्बन्धी १ हजार ४५३, हातहतियार नवीकरणसम्बन्धी ४ र अन्य कागजातसम्बन्धी ५९ वटा मुचुल्का रहेका छन् ।
ठाडो उजुरीतर्फ १ हजार ६७९ उजुरी फर्छ्योट
ठाडो उजुरीतर्फ प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा १ हजार ९६ वटा र जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी कार्यालयमा ७५९ वटा उजुरी परेका छन् । यसरी कुल १ हजार ८५५ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा परेका ९८५ र जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त भएका ६९४ गरी कुल १ हजार ६७९ वटा उजुरी फर्छ्योट भएका छन् । बाँकी १७६ वटा उजुरी फर्छ्योट हुन बाँकी रहेका छन् ।
घरेलु हिंसाका ८९ उजुरी, ७५ वटामा मिलापत्र
घरेलु हिंसातर्फ कुल ८९ वटा उजुरी परेका छन् । तीमध्ये ७५ वटा उजुरीमा मिलापत्र भएको छ भने बाँकी १४ वटा उजुरी कारबाही प्रक्रियामा रहेका छन् ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयमा पीडितका तर्फबाट कुल ५८६ वटा उजुरी परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
सवारी दुर्घटनामा १९ जनाको मृत्यु, ६१५ जना घाइते
पाँच महिनाको अवधिमा सर्लाही जिल्लामा कुल ३९० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ६४९ वटा सवारीसाधन संलग्न रहेका थिए । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने ६१५ जना घाइते भएका छन् । साथै, प्रहरीले ७१ जनाको उद्धार गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार १३३ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । उक्त कारबाहीबाट ५४ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
जनचेतनामूलक कार्यक्रममा १३ हजारभन्दा बढी लाभान्वित
जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले समुदाय केन्द्रित ४६१ वटा र विद्यालय केन्द्रित ५७ वटा कार्यक्रम सञ्चालन गरेको छ । समुदाय केन्द्रित कार्यक्रमबाट १० हजार ८८४ जना र विद्यालय केन्द्रित कार्यक्रमबाट २ हजार ६४८ जना गरी कुल १३ हजार ५३२ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम, प्रहरी निरीक्षकत्रय गणेश पाण्डे, जीवन श्रेष्ठ र रुपेश अधिकारी, जिल्लास्थित मातहतका इलाका प्रहरी कार्यालयका इन्चार्जहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्चार्ज प्रहरी निरीक्षक झलक शर्मा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।






