सर्लाही, असोज २० गते । जिल्लाको कबिलासी नगरपालिका-३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकलाई प्रहरीले सिक्सर पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, सोमबार बिहान करिब १ बजे मदनपुरस्थित सडकमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनापछि हतियारसहित एक व्यक्ति सडकमा लडिरहेको सूचना प्रहरीलाई बिहान करिब ४ः५० बजे प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा भारतीय प्लेट बीआर ३० वाई २८५३ नम्बरको मोटरसाइकल र त्यसका चालक कबिलासी नगरपालिका-३ मदनपुर निवासी महादेव ठाकुरका छोरा करिब ३३ वर्षीय तुलसी ठाकुरलाई फेला पारेको थियो । ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद गरिएको छ । बरामद हतियारमा गोली भने नरहेको डीएसपी गौतमले बताए ।

मोटरसाइकल चालक ठाकुरले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्रसमेत रहेको पाइएको छ । उनी जनकपुरबाट आफ्नो घर मदनपुरतर्फ आउँदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा ठाकुरको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
पेस्तोल कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।
घटनाले सर्लाहीमा सीमावर्ती क्षेत्रबाट हुने अवैध हतियार ओसारपसार तथा प्रयोगसम्बन्धी सुरक्षा चुनौतीप्रति समेत प्रश्न उठाएको छ । यद्यपि बरामद पेस्तोलको स्रोत, स्वामित्व र त्यसको प्रयोजनबारे प्रहरी अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ ।






