राजविराज,५ असोज । विश्व सरसफाइ तथा शून्य उत्सर्जन दिवसको अवसरमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-१ स्थित श्री ठाकुरजी माध्यमिक विद्यालयमा छात्रछात्राबीच हस्तकला र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
डब्लूएचएच, बीएमजेड र महुली सामुदायिक विकास केन्द्रको प्राविधिक सहयोग तथा विद्यालय, सयपत्री इको क्लब र नवोदीप बाल क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो। फोहोर तथा खेर जाने सामग्रीबाट निर्मित हस्तकला प्रतियोगितातर्फ सिर्जना मेहताले प्रथम स्थान हासिल गरेकी छन्। प्रतियोगितामा साहिन खातुन द्वितीय र निशा मेहता तृतीय भएका छन्। त्यसैगरी, लोगो चित्रकलातर्फ कक्षा ९ की गायत्री कुमारी चौधरी प्रथम भइन्। दुई दर्जनभन्दा बढी विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगितामा उत्कृष्ट र सहभागी हुने छात्रछात्रालाई सरसफाइ सामग्री, स्टेसनरी र मेडल प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख फिरोज कटवाल, महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष ललितप्रसाद चौधरी, कार्यकारी निर्देशक प्रभुनारायण चौधरीलगायतले मन्तव्य व्यक्त गर्दै यस्ता रचनात्मक प्रतियोगिताले विद्यार्थीमा वातावरण संरक्षण र सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुर्याउने बताए।







