काठमाडौं। निरन्तर वर्षाका कारण काठमाडौं महानगरपालिका–३ बाँसबारीमा रहेको बिश्व हिन्दु महासंघको केन्द्रीय कार्यालय जोखिमपूर्ण अवस्थामा रहेको छ । सम्पूर्ण हिन्दु धर्मावलम्बी ऊकार परिवारको आस्थाको केन्द्र नेपालमा रहेको महासंघको अन्तर्राष्ट्रिय कार्यालयको सुरक्षा गरिदिन महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले नेपाल सरकार समक्ष अपिल गरेकी छन ।

अविरल वर्षाको कारण जमिन भासिएर पहिरो गएपछि जोखिममा परेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको भवनको सुरक्षाका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले महासंघको भवन निरिक्षण गर्न पुगेर तत्काल उद्धार तथा सुरक्षा कार्य अघि बढाउन निर्देशन दिएका छन्।

जोखिमको अवस्था बुझ्न शनिबार बाँसबारीस्थित महासंघको कार्यालय पुगेका प्रजिअ पौडेलले पहिरो प्रभावित क्षेत्र तथा महासंघको भवनको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले भिरालो जमिनको अवस्था, पहिरोको सम्भावित प्रभाव र जोखिममा रहेका संरचनाबारे जानकारी लिँदै सम्बन्धित निकायलाई आवश्यक सुरक्षा तथा उद्धारका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

महासंघको कार्यालय सँगै रहेको एक गेष्ट हाउस सञ्चालनमा रहेको घरको आधाभाग झन्डै ४० मिटिर तल खसेको छ ।

उक्त घटनापछि महासंघको कार्यालय भवनतथा आसपासका संरचना पनि उच्च जोखिममा परेका छन्।

वर्षा निरन्तर भइरहेमा थप पहिरो जान सक्ने र आसपासका संरचनामा क्षति पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताएका छन्। महासंघको भवनको संरक्षणका लागि स्थानीय सरकार भने मौन देखिएको छ ।

महासंघको कार्यालय भवन भिरालो ठाउँमा नै रहेको छ त्यसमा पनि काठमाडौं महानगरपालिका वडा ३ ले महासंघको जमिनमा दमकल स्टेशन राख्नका लागि डोजर चलाएर गहिरो खाल्डो खनेपछि त्यो जमिन भासिएको हो। उक्त जमिनका विवादका कारण महासंघ र वडा बिचको सम्वन्ध चिसिएको थियो । पूर्व वडा अध्यक्ष दिपक केसी कै ब्यबहार बर्तमान् अध्यक्ष प्रेम थापाले पनि दोहोर्‍याएर महासंघको जग्गामा सडक निर्माण गरे पछि नेपाल सरकारबाट भोगाधिकार प्राप्त जमिन संरक्षणका लागि बाध्य भएर आफूहरु अदालत जानु परेको अध्यक्ष भण्डारी बताउछिन् । वडा ३ का अध्यक्ष प्रेम थापा आफ्नो फेसबुकमा लेख्छन् “काठमाडौ महानगरपालिका वडा नं-३ को बिकास, निर्माण र योजनलाई झुठो मुद्दा लगाई, सम्मानित अदालतलाई गुमराहमा पारि, सत्य र तथ्य लुकाई, गैर्ह कानुनी रूपमा सरकारी सार्वजनिक जग्गा हडपनुको कारणले यति ठुलो क्षति हुन गयो।

बेलैमा सचेत र जिम्मेवारी बहन गर्न सम्बद्ध सबैमा अपिल गर्दछौ।” महासंघको लड्न लागेको घरको तस्बिरहरू साथै भर्खरै लडेको घरको कारुणीक तस्बिरहरू सहित अध्यक्ष थापाले यस्तो लेखेका हुन ।

अहिले सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न तत्काल प्राविधिक मूल्यांकन, सुरक्षा व्यवस्थापन र उद्धार तयारी आवश्यक देखिएको छ।

प्रजिअ पौडेलको स्थलगत निरीक्षणपछि जोखिममा रहेका संरचना र मानिसको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक सावधानी अपनाउने पहल अघि बढाइएको महासंघले जनाएको छ।

यसैबीच, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले आफ्नो आस्थाको केन्द्रका रूपमा रहेको महासंघ भवनको सुरक्षाका लागि स्थलगत निरीक्षण गरी आवश्यक पहलका निम्ति प्रमुख जिल्ला अधिकारी पौडेलले देखाउनु भएको अभिभावकीय भूमिका प्रति महासंघ परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दै सम्भावित जोखिम र दुर्घटना हुनुअघि नै जोखिममा रहेका संरचना तथा मानवीय सुरक्षाका लागि सम्बन्धित निकायलाई आवश्यक सुरक्षा र प्राविधिक उपाय तत्काल अवलम्बन गरिदिन नेपाल सरकार समक्ष अपिल गरेकी छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर