एसपी यादव/सर्लाही, भदौ ५ गते । सर्लाहीको सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मलंगवा नगरपालिका-८ स्थित नेपाल बैंक चोक अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा गोडैता नगरपालिका-५ निवासी सत्यनारायण प्रसाद गुप्ताकी २३ वर्षीया छोरी गुरीया कुमारीको मृत्यु भएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, नगरपालिका चोकबाट राजश्री चोकतर्फ जाँदै गरेको ज १ त ५२४६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ पैदल हिँडिरहेकी गुरीया कुमारीलाई शुक्रबार बिहान करिब १० बजे ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी गुरीयालाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्‍याइएको करिब २२ मिनेटपछि बिहान १०ः२२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका डीएसपी गौतमले जानकारी दिए ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक गोडैता नगरपालिका-११ निवासी १७ वर्षीय अजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग आवश्यक कागजपत्रसमेत नभएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा राखिएको छ । भने घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जनाएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर