एसपी यादव/सर्लाही, भदौ ४ गते । सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले लालबन्दी नगरपालिका-१४ डाईनी टोलस्थित एक घरबाट अन्दाजी ७४३ किलो ९८० ग्राम गाँजा बरामद गर्नुका साथै दुई जनालाई नियन्त्रणमा लिएको हो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, बुधबार साँझ करिब ४ः३० बजे विशेष सूचनाका आधारमा सर्लाही प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका-१४ डाईनी टोलमा छापा मारेको थियो । सो क्रममा घरबाट ड्रम तथा बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा अन्दाजी ७४३ किलो ९८० ग्राम गाँजा बरामद भएको हो ।
गाँजासहित पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-१४ डाइनी टोलका ६७ वर्षीय नरबहादुर थिङ र सोही ठाउँमा बस्ने ५२ वर्षीया जेसुन माया थिङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा घरनजिकैको मकैबारी पछाडीको सार्वजनिक जग्गामा समेत गाँजा खेती गरिएको फेला परेको थियो । प्रहरीले उक्त स्थानमा लगाइएको गाँजाका बोटसमेत नष्ट गरेको जनाएको छ ।

सर्लाही प्रहरीले पछिल्लो समय जिल्लामा गाँजाको अवैध उत्पादन, भण्डारण तथा ओसारपसारविरुद्ध अभियान तीव्र बनाएको छ । ठूलो परिमाणमा गाँजा एकै स्थानबाट बरामद हुनुले जिल्लामा यसको अवैध कारोबारमा संलग्न समूह सक्रिय रहेको आशंका बढाएको छ ।
बरामद गाँजा र नियन्त्रणमा लिइएका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले जानकारी दिए ।
सर्लाहीमा यसअघि पनि लालबन्दी क्षेत्रमा ठूलो परिमाणमा गाँजा बरामद हुँदै आएको प्रहरी अभिलेखले देखाउँछ ।






