एसपी यादव/सर्लाही, भदौ १ गते । सर्लाही प्रहरीले अटोमा लुकाएर ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले २२ किलो ८२० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, सोमबार लालबन्दी नगरपालिका-१ नवलपुरस्थित अञ्जली हस्पिटल अगाडि डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह २४४५ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले अटोलाई रोकेर जाँच गर्दा अटोभित्र लुकाइराखिएको अवस्थामा पाँच वटा पोकामा २२ किलो ८२० ग्राम गाँजा फेला परेको डीएसपी गौतमले जानकारी दिए ।
नियन्त्रणमा लिइएको अटो र गाँजासहित पक्राउ पर्नेमा अटो चालक हरिवन नगरपालिका-१, घुर्कौलीका ३० वर्षीय सुशील साह तथा अटोमा सवार सोही ठाउँकी २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई लागूऔषधसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्लाहीमा लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा निगरानी र सवारीसाधन चेकजाँचलाई थप कडाइ गरिएको डीएसपी गौतमले जानकारी दिए ।






