ढल्केवर। धनुषाको ढल्केबरमा पूर्व-प्रस्तावित ट्रमा सेन्टर सोही स्थानमै निर्माण हुनुपर्ने माग राख्दै स्थानीयवासीले आइतबार पूर्व–पश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध पारेका छन्। ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा बिहान ११ बजेदेखि ११:३० बजेसम्म राजमार्ग ठप्प पारिएको हो।

स्वास्थ्यमन्त्री निशा मेहताले हालै संसदमा ट्रमा सेन्टर ढल्केबरको सट्टा सिरहाको लहानमा निर्माण गरिने जानकारी गराएपछि यस क्षेत्रका बासिन्दा आन्दोलित बनेका हुन्। पूर्व-निर्धारित योजना अन्यत्र सार्न लागिएको भन्दै आक्रोशित स्थानीयले सरकारविरुद्ध नाराबाजी गर्दै चक्काजाम गरेका हुन्।

संघर्ष समितिका संयोजक तथा मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको कानूनी प्रक्रिया पूरा भइसकेको छ। सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा साविक ढल्केबर गाविस वडा नं. २‘क’ (हाल मिथिला–७) को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गालाई आधार मानेर पहिलोपटक बजेट विनियोजन गरेको थियो। उक्त जग्गाको स्वामित्व र लालपूर्जासमेत प्राप्त भई योजना शिलान्यासको अन्तिम चरणमा पुगेका बेला मन्त्रीस्तरीय अभिव्यक्तिले अन्योल र विवाद सिर्जना गरेको नगरप्रमुख महतोले बताए।

संघर्ष समितिले आफ्ना माग पूरा नभए आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएको छ। जसअनुसार भोलि साउन २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म र साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पुनः पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिने समितिले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर