एसपी यादव/सर्लाही, साउन १८ गते । सर्लाहीको हरिवन नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनापछि फरार भएको ट्रक र चालकलाई प्रहरीले करिब आधा घण्टामै पक्राउ गरेको छ ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, सोमबार बिहान करिब ७:०० बजे हरिपुर नगरपालिकाबाट हरिवनतर्फ कामको सिलसिलामा साइकलमा आउँदै गरेका हरिपुर नगरपालिका-५, लक्ष्मीपुर निवासी करिब ५० वर्षीय पञ्चलाल चौधरीलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ ख ११९४ नम्बरको ट्रकले हरिवन नगरपालिका-४ स्थित गणेश चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचना प्राप्त हुनासाथ फरेन्सिक टोलीसहित प्रहरी परिचालन गरिएको डीएसपी गौतमले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनामा संलग्न ट्रक पश्चिमतर्फ फरार भएको खुलेपछि इलाका प्रहरी कार्यालय कर्मैयालाई जानकारी गराइएको थियो । प्रहरीको सक्रियतापछि बिहान करिब ७:३० बजे उक्त ट्रकसहित चालक बारा जिल्लाको कोल्बी नगरपालिका-१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिइएको डीएसपी गौतमले बताए ।
प्रहरीले दुर्घटनाग्रस्त साइकल नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।






