देवानगञ्ज (सुनसरी) — सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गत साउन १० गते भएको दुःखद घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकार (गृह मन्त्रालय) बीच ७ बुँदे सहमति भएको छ।
साउन १४ गते भएको सहमति पत्रमा पीडित परिवारका तर्फबाट मृतक ओमप्रकाशका अभिभावक फणिदेव र मृतक जयप्रकाशका अभिभावक नरेश मेहता तथा सरकारका तर्फबाट माननीय गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गर्नुभएको छ।


सहमतिका मुख्य बुँदाहरू:
- सहिद घोषणा र राहत: मृतकद्वयलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र प्रत्येक मृतकका परिवारलाई सरकारका तर्फबाट रु. १० लाख राहत उपलब्ध गराउने।
- छानबिन र कारबाही: साउन १० गते राति देवानगञ्ज–३ मा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने।
- मदरसाको कानुनी हैसियत अध्ययन: देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सोसँग सम्बन्धित विषयहरूमाथि आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने।
- रोजगारीको व्यवस्था: प्रत्येक मृतकका परिवारका एक-एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
- छानबिन समितिको प्रतिवेदन कार्यान्वयन: गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू यथाशीघ्र कार्यान्वयनमा ल्याउने।
- स्मृति पार्क निर्माण: मृतकद्वयको सम्झनामा स्थानीय सरकार (गाउँपालिका) सँगको समन्वयमा उपयुक्त स्थानमा ‘स्मृति पार्क’ निर्माण गर्ने।
- अन्तिम संस्कार: मृतकद्वयको शव साउन १५ गते दिउँसो २:०० बजे अन्तिम संस्कार (दाहसंस्कार) गर्ने।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सरकार सत्य, न्याय, कानुनी शासन तथा नागरिकको विश्वासप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।






