एसपी यादव/सर्लाही, साउन १४ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटना तथा सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा भएको गोलीकाण्डको विरोधमा हिन्दु सम्राट सेना नेपालले बिहीबार साँझ सर्लाही सदरमुकाम मलंगवामा राँके जुलुससहित विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा शान्ति-सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए । उनीहरूले विभिन्न नाराबाजी गर्दै मलंगवाको मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए ।

यसअघि बिहीबार दिउँसो हिन्दु सम्राट सेना नेपालका कार्यकर्ताले सर्लाहीको नयाँ रोड-मधुवनी सडकखण्डअन्तर्गत सिसौट र रामबनबीच सडक अवरुद्ध गरी शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम सञ्चालन गरेका थिए ।
हिन्दु सम्राट सेना नेपालले देवानगञ्ज र सिरहाको गोलबजारका घटनाको विरोधस्वरूप साउन १५ गते शुक्रबार सर्लाही जिल्ला बन्दको घोषणा पनि गरेको छ । संगठनले बन्दलाई शान्तिपूर्ण रूपमा सफल बनाउन सम्पूर्ण जिल्लावासीसँग सहयोगको अपिल गरेको छ ।
साउन १० गते आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक घटनामा गोलि लागेर ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहीबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
त्यसैगरी, आज बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर औरही गाउँपालिका-२ का करिब २० वर्षीय गणेश यादवको मृत्यु भएको छ ।
यी घटनापछि मधेश तथा पूर्वी तराईका विभिन्न जिल्लामा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ ।
यसैबीच, देवानगञ्जमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै, सिरहाको गोलबजारमा भएको गोलीकाण्डको घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहित समग्र पक्षको अध्ययन गर्न प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।






