एसपी यादव/सर्लाही, साउन १४ गते । सामाजिक सञ्जालमा प्रसारित भ्रामक समाचारप्रति जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार कालिका एफएम नामक फेसबुक पेज र नारायणी अनलाइन नामक फेसबुक पेजमा प्रकाशित “सर्लाहीमा पनि तनाव: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी” शीर्षकको समाचार पूर्णतः भ्रामक र तथ्यहीन रहेको प्रहरीले स्पष्ट पारेको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार, उक्त समाचारमा उल्लेख गरिएजस्तो कुनै पनि घटना सर्लाहीमा नभएको र जिल्लाको समग्र सुरक्षा अवस्था पूर्ण रूपमा सामान्य तथा शान्तिपूर्ण रहेको छ । फेसबुक पेजसँग सम्बन्धित व्यक्तिसँग टेलिफोनमार्फत संवाद गरी तत्काल उक्त भ्रामक समाचार हटाउन भनिएको जानकारी दिए । उनले भ्रामक सूचना सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दा समाजमा अनावश्यक भ्रम, त्रास र सामाजिक सद्भावमा असर पर्न सक्ने भएकाले यस्ता विषयमा विशेष संवेदनशील हुन सञ्चारमाध्यमलाई आग्रह गरे ।

सर्वसाधारणलाई अफवाह र अपुष्ट सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न सर्लाही प्रहरीले अनुरोध गरेको छ ।

साथै, सामाजिक सद्भाव, शान्ति-सुरक्षा तथा सार्वजनिक व्यवस्थामा असर पर्ने उद्देश्यले भ्रामक तथा झुठा सूचना सम्प्रेषण गर्ने वा गराउने कार्य कानूनविपरीत भएकाले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने डीएसपी गौतमले चेतावनी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले सबै सञ्चारमाध्यम, अनलाइन पोर्टल तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्यको यथोचित पुष्टि गर्न तथा भ्रामक र असत्य सूचना सम्प्रेषण नगर्न विशेष अनुरोध गरेको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर