एसपी यादव/सर्लाही, साउन १२ गते । सर्लाही जिल्ला प्रशासन कार्यालय मलंगवाले जिल्लाभर डीजे बाजाको प्रयोग पूर्ण रूपमा रोक्ने निर्णय पुनः कडाइका साथ कार्यान्वयन गरिने जनाएको छ । कार्यालयले धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत कुनै पनि कार्यक्रममा डीजे बजाएको पाइएमा डीजे, साउण्ड सिस्टम र सम्बन्धित सवारीसाधन नियन्त्रणमा लिएर आयोजक तथा सञ्चालक दुवैमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार, जिल्लामा ध्वनि प्रदूषण नियन्त्रण, शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्न र सम्भावित साम्प्रदायिक सद्भावमा असर पर्न नदिन प्रशासनले लामो समयदेखि विभिन्न सरोकारवाला निकायसँग निरन्तर छलफल तथा समन्वय गर्दै आएको जनाएको छ । असार ३ गते जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, असार ११ गते धार्मिक संस्थाका प्रतिनिधि, असार १२ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख-अध्यक्ष र असार १५ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा डीजे व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल गरी धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डीजे नबजाउने सर्वपक्षीय सहमति भएको थियो । साथै, डीजेको सट्टा अन्य वैकल्पिक बाजा प्रयोग गर्ने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि पटक-पटक सूचना जारी गरिसक्दा पनि जिल्लाका केही स्थानमा निर्णयको उल्लङ्घन गर्दै अवैध रूपमा डीजे बजाइएको गुनासो प्राप्त भएपछि
जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सर्वपक्षीय निर्णयको मर्मविपरीत कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कार्यक्रममा डीजे प्रयोग नगर्न पुनः सबैलाई सचेत गराएको छ । यदि निर्णयको अवज्ञा गरी डीजे बजाएको पाइएमा सुरक्षाकर्मीले तत्काल उपकरण र सवारीसाधन नियन्त्रणमा लिई आयोजक तथा सञ्चालकलाई कानुनी दायरामा ल्याइने चेतावनी विज्ञप्तिमा दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले सांस्कृतिक एकता, सामाजिक सद्भाव, आपसी भाइचारा, शान्ति-सुरक्षा र अमनचयन कायम राख्न सबै जिल्लावासीको सहयोग आवश्यक रहेको उल्लेख गर्दै डीजे बजेको जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा तत्काल सूचना दिन आम नागरिकलाई आग्रह गरेको छ ।






