एसपी यादव/सर्लाही, साउन ११ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा सोमबार शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ ।

हिन्दु सम्राट सेना नेपालद्वारा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले देवानगञ्ज घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही, पीडितलाई न्याय तथा घटनाको निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा यस्ता घटना पुनः दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने लगायतका मागसमेत गरेका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।

घटनापछि गृह मन्त्रालयले कोशी प्रदेशका प्रदेशस्तरीय सुरक्षा प्रमुखहरू तथा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा संयन्त्रका प्रमुखहरूको जिम्मेवारी परिवर्तन गरेको छ । साथै, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

यसैबीच, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

देवानगञ्ज घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी दायरामा ल्याउने तथा प्रभावित क्षेत्रमा शान्ति-सुरक्षा कायम गर्न सरकारमाथि दबाब बढ्दै गएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर