एसपी यादव/सर्लाही, साउन ९ गते । सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाकी डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हजार ११५ रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ परेका छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले शुक्रबार साँझ बागमती नगरपालिका-१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको सरकारी क्वाटरमा छापा मार्दा डिभिजन प्रमुख ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको ७ लाख ५० हजार रुपैयाँ फेला पारेको थियो । खानतलासीका क्रममा स्रोत खुल्न नसकेको थप ७१ हजार ११५ रुपैयाँ समेत बरामद गरिएको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार, भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिमार्फत बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानीका लागि पुगेका सेवाग्राहीसँग डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेकी थिइन् । अनुसन्धानका क्रममा मेकानिकल अधिकृत चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ बुझी उक्त रकम सरकारी क्वाटरमा पुर्याएको खुलेको पोखरेलले जनाएको छ ।
घटनापछि दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
यो घटना सार्वजनिक भएसँगै सरकारी कार्यालयमा हुने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहमा पारदर्शितामाथि पुनः गम्भीर प्रश्न उठेको छ । अख्तियारले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।






