ग्वाडालाजारा — सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। शुक्रबार बिहान सम्पन्न समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्दै मेक्सिकोले अन्तिम ३२ को यात्रा सुनिश्चित गरेको हो।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा मेक्सिकोलाई ऐतिहासिक जित दिलाउन लुइस रोमोले खेलको ५०औँ मिनेटमा निर्णायक गोल गरे। दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु र आफ्नै टोलीका रक्षक ली गी–ह्युकबीच तालमेल नमिल्दा फुत्किएको बललाई सदुपयोग गर्दै रोमोले जाली चुमाएका थिए।

खेलभर दक्षिण कोरियाले बल पोजिसनमा पकड जमाए पनि गोल गर्न सकेन। खेलको ८७औँ मिनेटमा कोरियाली खेलाडी चो ग्यु–सुङको प्रहारलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।

दुई खेलबाट ६ अंक जोडेको मेक्सिको समूह विजेताका रूपमा नकआउटमा पुगेको हो। ३ अंक रहेको दक्षिण कोरियाको पनि अर्को चरणमा पुग्ने सम्भावना कायमै छ। समूहका अन्य टोली चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एक–एक अंक छ।

सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिकोले यसपटक भने घरेलु समर्थकमाझ उत्कृष्ट प्रदर्शन गर्दै नकआउटमा स्थान बनाएको छ। मेक्सिकोले अब जुलाई १ मा राउन्ड अफ ३२ अन्तर्गत अन्य समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर