वासिङ्टन — पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता भएको छ। यस सम्झौतासँगै अमेरिकाले इरानविरुद्ध लगाउँदै आएको समुद्री नाकाबन्दी फुकुवा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपतिको निर्देशनमा नाकाबन्दी अन्त्य गरिएको जानकारी दिएको छ, यद्यपि सुरक्षा सतर्कताका लागि केही अमेरिकी जहाजहरू सो क्षेत्रमा तैनाथ रहने जनाइएको छ।

दुई देशबीच भएको १४ बुँदे सम्झौतामा स्ट्रेट अफ होर्मुजको मार्ग सुचारु गर्ने, इरानले आणविक हतियार नबनाउने र इरानको पुनर्निर्माणका लागि ३०० अर्ब डलरको कोष स्थापना गर्नेलगायतका विषय समेटिएका छन्। दुवै पक्षले ६० दिनभित्र अन्तिम सम्झौता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ।

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले यस सम्झौतालाई देशको हित रक्षाका लागि अनुमोदन गरेको बताएका छन्। यसअघि उनका पिताको मृत्युपछि उनले कार्यभार सम्हालेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताले लेबनान र इजरायलसहितका मोर्चामा पूर्ण युद्धविराम ल्याउने विश्वास व्यक्त गरेका छन्।

सम्झौता कार्यान्वयनका लागि डिजिटल माध्यमबाट हस्ताक्षर भइसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन्। तर, अमेरिकाभित्रै यो सम्झौताको तीव्र आलोचना भइरहेको छ। रिपब्लिकन सिनेटर बिल क्यासिडीले यसलाई दशककै ठूलो कूटनीतिक गल्तीको संज्ञा दिएका छन्। भान्सले भने इरानले सर्तहरू पालना नगरेसम्म कुनै छुट नदिइने स्पष्ट पारेका छन्।

उता, सम्झौता भए पनि इजरायल र हिजबुल्लाहबीच आक्रमण भने रोकिएको छैन। इजरायलले हिजबुल्लाहसँगको लडाइँ फरक रहेको तर्क गरिरहेको छ भने हिजबुल्लाहले सम्झौताका सर्तहरू अस्वीकार गरेको छ। उपराष्ट्रपति भान्सले इजरायली मन्त्रीहरूको आलोचना गर्दै युद्ध मात्र समस्याको समाधान नभएको टिप्पणी गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने अमेरिकी साथको प्रशंसा गर्दै सम्बन्धको महत्त्वमा जोड दिएका छन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर