एसपी यादव/सर्लाही, असार १ गते । जिल्लाको कबिलासी नगरपालिका-६ जमुनियामा सञ्चालन भइरहेको सडक ढलान योजनामा गम्भीर प्राविधिक अनियमितता भएको आरोप सार्वजनिक भएको छ ।

१० लाख रुपैयाँ बजेट रहेको उक्त योजनामा निर्धारित प्राविधिक मापदण्डविपरीत निर्माण कार्य भइरहेको भन्दै स्थानीयस्तरमा व्यापक आक्रोश फैलिएको छ ।

स्थानीय नेता रामगोविन्द यादवका अनुसार, सडक ढलान कार्यका क्रममा आवश्यक सब-बेस र बेस तयारी नगरी सिधै माटोमाथि नै ढलान गरिएको छ । निर्माण कार्य सम्बन्धित जनप्रतिनिधि तथा प्राविधिक ओभरसियरको रोहबरमै अघि बढिरहेको भए पनि नगरपालिकाले तोकेको मापदण्ड पालना नभएको उनले बताएका छन् । वडाबाट बजेट विनियोजन गरिएको वास्तविक योजना “पोखरीदेखि रामजी ठाकुरको घरसम्म सडक ढलान” हुनुपर्नेमा योजना परिवर्तन गरी “पोखरीदेखि पलधारी रायको घरसम्म सडक ढलान” कार्य अघि बढाइएको छ । १३ फिट चौडाइमा ढलान हुनुपर्ने योजनालाई १० फिटमा सीमित गर्न खोजिएपछि स्थानीयवासीले विरोध गरेको थियो । स्थानीयको विरोधपछि हाल ११ फिट चौडाइमा माटोमाथि नै सडक ढलानको काम भइरहेको नेता यादवको दाबी छ ।

आवश्यक संरचनागत तयारीबिना माटोमाथि नै करिब १० फिट क्षेत्रसम्म सडक ढलान गरिएको  छ । यसरी माटोमाथि सिधै ढलान गर्दा सडकको दीर्घकालीन टिकाउपनमा असर पर्ने, चाँडै भत्किने तथा सार्वजनिक लगानी जोखिममा पर्ने सम्भावना रहेको निर्माण क्षेत्रका जानकारहरू बताउँछन् ।

सार्वजनिक स्रोतबाट सञ्चालन हुने योजनामा गुणस्तर र पारदर्शिता सुनिश्चित हुनुपर्ने भए पनि प्रारम्भिक रूपमा देखिएको अवस्थाले निर्माण प्रक्रियामाथि नै प्रश्न उठाएको छ । स्थानीय बासिन्दाहरुले योजना कार्यान्वयनमा संलग्न निकायको भूमिका तथा प्राविधिक निगरानीमाथि समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।

यस विषयमा प्रतिक्रियाका लागि कबिलासी नगरपालिकाका नगर प्रमुख ब्रह्मदेव रायसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दा उनले, उक्त योजना वडाको बजेटबाट सञ्चालन भइरहेको र स्टिमेटअनुसार नै काम भइरहेको बताए । ‘बिना बेस माटोमाथि नै ढलान भइरहेको छ नि, मेयर साहेब ?’ भन्ने प्रश्नमा उनले सडकमा पहिले ढुङ्गा बिछ्याएर त्यसमाथि ढलान गर्ने स्टिमेट रहेको बताए ।

कबिलासी नगरपालिका-६ का वडा अध्यक्ष पुरुषोत्तम रायसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दा उनले, उक्त योजना स्टिमेटअनुसार नै सञ्चालन भइरहेको बताए । यो वडा स्तरको १० लाख रुपैयाँ बजेटको योजना हो, जसअन्तर्गत ११ फिट चौडाइ, ६ इन्च मोटाइ तथा सोलिङ-ग्राभेलमाथि सडक ढलान गरिएको छ । वडाबाट बजेट विनियोजन गरिएको वास्तविक योजना “पोखरीदेखि रामजी ठाकुरको घरसम्म सडक ढलान” हुनुपर्नेमा योजना परिवर्तन गरी “पोखरीदेखि पलधारी रायको घरसम्म सडक ढलान” कार्य किन गरिएको भन्ने प्रश्नमा उनले सुरुमा योजनाको नाम राख्दा नै त्रुटि भएकोले हाल त्यसलाई सच्याउने काम गरिएको स्वीकार गरे ।

सम्बन्धित प्राविधिक शाखाका ओभरसियर अभिनन्दन रायसँग ‘सोलिङ-ग्राभेलमाथि सडक ढलान गर्नु नगरपालिकाको मापदण्डमा पर्छ कि पर्दैन ?’ भन्ने प्रश्न गर्दा उनले, सोलिङ-ग्राभेलमाथि सडक ढलान गर्ने प्रचलन रहेको दाबी गरे । साथै उक्त निर्माणकार्य कोटेशन प्रक्रियामार्फत भइरहेको उनले जनाए ।

स्थानीयहरुले योजनाको तत्काल स्थलगत निरीक्षण, प्राविधिक मापदण्ड पालना भए नभएको निष्पक्ष जाँच, मापदण्डविपरीत कार्य पुष्टि भए निर्माण रोक्का गरी कानुनी कारबाही तथा सार्वजनिक बजेटको दुरुपयोग रोक्न गुणस्तरीय निर्माण सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

स्थानीय तहबाट सञ्चालन हुने विकास योजनामा गुणस्तरहीन निर्माणका गुनासा पटक-पटक उठ्दै आएका बेला कबिलासीको यो घटनाले पुनः विकास बजेटको प्रभावकारी उपयोग र प्राविधिक अनुगमनको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर