एसपी यादव/सर्लाही, जेठ २१ गते । सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएका एक स्थानीय व्यक्ति प्रहरीबाटै कुटिएको आरोप सार्वजनिक भएपछि सर्लाहीमा प्रहरीको व्यवहारमाथि प्रश्न उठेको छ ।

सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा भएको उक्त घटनामा धनकौल गाउँपालिका-५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।


प्राप्त जानकारीअनुसार, दासका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालयका सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए । सोही निवेदनमाथि आवश्यक सोधपुछ तथा छलफलका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो ।

पीडित दासका अनुसार, उनी बुधबार दिउँसो आफ्नी श्रीमतीसहित इप्रका हरकठवा पुगेका थिए । त्यहाँ प्रहरीले पत्रमा हस्ताक्षर गर्न भन्यो तर आफूले विद्यालयको सम्पूर्ण शुल्क यसअघि नै तिरिसकेको दाबी गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । दासले प्रहरी जवान रामजीवन पासवानले आफूलाई कार्यालयभित्रको एक कोठामा लगेर बाँसको भाटा र बुटले निर्घात कुटपिट गरेको आरोप लगाएका छन् । कुटपिटबाट उनको बायाँ हात, तिघ्रा तथा पिठ्युँमा गम्भीर चोट लागेको छ ।

घाइते दासलाई प्रारम्भिक उपचारका लागि बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचार आवश्यक देखिएपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

घटनाबारे प्रतिक्रिया दिँदै इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख प्रहरी नायब निरीक्षक पदम खड्काले कार्यालयभित्र दास र प्रहरी जवान पासवानबीच विवाद भएको स्वीकार गरेका छन् । उनका अनुसार विवादकै क्रममा कुटपिटको घटना भएको हो ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै प्रारम्भिक विवरणअनुसार दासले मादक पदार्थ सेवन गरी प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको जानकारी आएको बताए । एसपी पौडेलले घटनामा संलग्न प्रहरी जवान रामजीवन पासवानलाई तत्काल इलाका प्रहरी कार्यालय बरहथवामा तानिएको तथा घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रहरी कार्यालयभित्रै सोधपुछका लागि बोलाइएका व्यक्तिमाथि कुटपिट भएको आरोप सार्वजनिक भएपछि मानवअधिकार तथा कानुनी प्रक्रियाको पालनाबारे स्थानीय स्तरमा चासो बढेको छ । घटनाको वास्तविकता अनुसन्धानबाट मात्रै स्पष्ट हुने भए पनि प्रहरीको आचरण र सेवाग्राहीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरुले बताएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर