एसपी यादव/सर्लाही, जेठ १४ गते । सर्लाहीमा सर्पदंशबाट घाइते भएका तीन वर्षीय बालकको उपचारकै क्रममा मृत्यु भएपछि प्रादेशिक अस्पताल मलंगवामा तनावको स्थिति उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको आरोप लगाएपछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको हो ।

जिल्लाको कौडेना गाउँपालिका-१ लक्ष्मीपुर निवासी रविन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेको अवस्थामा बुधबार साँझ सर्पले टोकेर गम्भीर घाइते भएका थिए । परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बालकको मृत्युको खबरसँगै अस्पताल पुगेका आफन्तजनले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा होहल्ला तथा विरोध जनाएका थिए । स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरीले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि अवस्था नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार, बुधबार रातिनै कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझिलगेका छन् ।
घटनापछि अस्पतालको उपचार प्रणाली र आकस्मिक सेवाको प्रभावकारितामाथि स्थानीयस्तरमा गम्भीर बहसको विषय बनेको छ ।






