एसपी यादव/सर्लाही, वैशाख २४ गते । सर्लाहीको हरीपूर्वा नगरपालिका-९ स्थित संग्रामपुर-बाँके सडकखण्ड अन्तर्गत खिला नजिक बिहीबार बिहान यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ठक्करबाट महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१२ कान्तिबजारका स्थानीय भोगेन्द्र ठाकुरका अन्दाजी ३६ वर्षीय छोरा पप्पु भनिने श्याम ठाकुरको मृत्यु भएको हो ।

बिहान करिब ८ः३० बजे संग्रामपुरबाट बाँकेतर्फ आउँदै गरेको ग १ ख ९४६७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको ना ४८ प ४७० नम्बरको अपाचे मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक ठाकुर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार, ठक्करबाट गम्भीर घाइते ठाकुरलाई बिहिवार बिहान ९ः३५ बजे प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न बस र बसधनी सर्लाहीको पर्सा गाउँपालिका-२ संग्रामपुर निवासी अन्दाजी २७ वर्षीय मनिष कुमार महतो तथा मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन् । भने बस चालक सर्लाहीको कबिलासी नगरपालिका निवासी अन्दाजी ४५ वर्षीय बद्री मण्डल रहेको बुझिएको छ । उनी हाल फरार रहेकाले खोजतलास भइरहेको डिएसपी राईले जानकारी गराएका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर