एसपी यादव/सर्लाही, चैत २९ गते । सर्लाही जिल्लाका विभिन्न राजनीतिक दलहरूले भारतीय नम्बर प्लेटका सवारी साधनको आवतजावतमा अवरोध नगर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।
आइतबार सर्वदलीय रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा विगतदेखि भारतीय नम्बर प्लेटका सवारी साधनहरू ३० किलोमिटरसम्म सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गर्दै हाल जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा ती सवारी साधन सञ्चालनमा रोक लगाउने र भन्सार प्रक्रिया बिना चल्न नदिने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्ति मार्फत भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा नै सञ्चालन गर्न दिन प्रशासनसँग अनुरोध गरिएको छ । अन्यथा उक्त निर्णय नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
उक्त विज्ञप्तिमा नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साह, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन् ।







