काठमाडौँ — जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक दमन र नागरिकको ज्यान गएको अभियोगमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निजी निवासबाट पक्राउ परेका ओलीलाई सुरुमा काठमाडौँ जिल्ला प्रहरी परिसर, भद्रकाली पुर्याइएको थियो। हिरासतमा राख्नुअघि गरिने अनिवार्य कानुनी प्रक्रिया र मेडिकल चेकजाँचका लागि उनलाई त्यहाँबाट अस्पताल लगिएको प्रहरी स्रोतले जनाएको छ।

ओलीलाई पक्राउ गरिएपछि उत्पन्न हुन सक्ने कानुनी र प्रशासनिक संवेदनशीलतालाई ध्यानमा राख्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी (CDO) ईश्वरराज पौडेल आफैँ जिल्ला प्रहरी परिसर पुगेका थिए।
ओलीमाथि गत भदौ २३ गते भएको आन्दोलनमा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोग लगाइएको छ। यता एमाले पक्षले भने यो पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै कानुनी लडाइँ लड्ने चेतावनी दिएको छ।






