काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत रूपमा दलको नेता चुन्ने निर्णय गरेको हो।
बैठकले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी भने समानुपातिक सांसद खुश्बु ओलीलाई दिने निर्णय गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी कुल पाँच सिट प्राप्त गरेको छ।

संसदीय दलको नेता चुनिएका शाही जुम्लाबाट भारी मतान्तरले विजयी भएका हुन्। उनी यसपटकको निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एक्ला सांसद समेत हुन्। प्रत्यक्ष र समानुपातिकतर्फका सबै सांसदहरूको उपस्थितिमा भएको उक्त बैठकले सदनमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने र जनताका मुद्दालाई सशक्त रूपमा उठाउने संकल्प समेत गरेको छ।






