काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई मन्त्री पदका लागि दौडधुप नगर्न कडा निर्देशन दिएका छन्। ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनका अवसरमा बोल्दै सभापति लामिछानेले मन्त्रालयको लोभमा शक्तिकेन्द्र धाउने र मिडियामा नाम उराल्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन्।
सम्बोधनका क्रममा लामिछानेले हालसम्म कुन मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा कुनै ठोस निर्णय नभएको स्पष्ट पारे। उनले मन्त्री बन्नका लागि नेताहरूको वरिपरि घुम्नुभन्दा आफ्नो कार्यक्षमता प्रदर्शन गर्न सांसदहरूलाई सुझाएका छन्। पार्टीले व्यक्ति विशेषको विज्ञता, क्षमता र कार्यकुशलताका आधारमा मात्र जिम्मेवारी बाँडफाँट गर्ने उनको भनाइ थियो।

लामिछानेले कतिपय सांसदहरू चर्चामा आउनका लागि ‘मिडिया ट्रायल’ मा लागेको प्रति असन्तुष्टि व्यक्त गर्दै अहिले नै मन्त्रीको दाबी गर्ने समय नभएको बताए। उनले पार्टी नेतृत्वले सबै सांसदहरूको गतिविधिको सूक्ष्म अवलोकन गरिरहेको उल्लेख गर्दै अगाडि देखिने र पर्दा पछाडि बसेर काम गर्ने दुवैथरी साथीहरूको मूल्यांकन भइरहेको जानकारी दिए।
उनले मन्त्रिपरिषद्मा कसलाई पठाउने भन्ने निर्णय पार्टीको संस्थागत प्रक्रियाबाट मात्र हुने भन्दै मन्त्री बन्ने आकांक्षा राखेर दबाब नदिन समेत चेतावनी दिएका छन्। पार्टीले सही समयमा सही व्यक्तिको चयन गर्ने भएकाले सांसदहरूलाई आ-आफ्नो भूमिकामा केन्द्रित हुन उनले निर्देशन दिएका छन्।






