एसपी यादव/सर्लाही, फागुन ३० गते । सर्लाहीको बरहथवा नगरपालिका-१० सितापुरमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ७ बजे बरहथवाबाट सितापुरतर्फ जाँदै गरेको DL9CZO777 नम्बरको स्कारपियोले विवाहमा जन्ती आएका व्यक्तिहरूलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा बरहथवा नगरपालिका-९ बस्ने करिब ५० वर्षीय नारायण जर्गा मगर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नगर अस्पताल बरहथवामा लगिएकोमा राति करिब ८ बजे चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी गराएका छन् ।

दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । घाइतेमध्ये रौतहट जिल्लाको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ । र उनको हनुमन्त अस्पताल बरहथवामा उपचार भइरहेको छ । त्यस्तै रौतहट गढीमाई नगरपालिका-११ बस्ने बन्धना पटेल बेहोस अवस्थामा उपचाररत छिन् ।
यसैगरी बरहथवा नगरपालिका-१० का रुपेश मण्डल, प्रतिमा कुमारी पटेल, दिलिप राय, चन्दन पासवान, दीपिका जैसवाल, रामजी राय, मुकेश राउत, रामनारायण ठाकुर र गुलाब कुमारी मण्डल घाइते भएका छन् । उनीहरूको बरहथवास्थित हनुमन्त अस्पताल, नगर अस्पताल तथा एडभान्स अस्पतालमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कारपियोसहित चालक बरहथवा नगरपालिका-१२ लौकठ बस्ने करिब ४० वर्षीय नरेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय मुर्तियाका प्रहरी नायब निरीक्षक धर्बेन्द्र साह र इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नितेश जर्गा मगरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरहथवामा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।






