काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन सवारी सञ्चालनमा विशेष कडाइ गर्ने भएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै सवारी पास आवश्यक नपर्ने गरी छुट पाएका सवारी साधनमा ‘सम्बन्धित व्यक्ति’ बाहेक अन्यलाई ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तोकिएको मापदण्ड विपरीत अन्य व्यक्तिलाई गाडीमा चढाएको पाइएमा स्थानीय प्रशासनले त्यस्ता सवारी साधनलाई तत्कालै नियन्त्रणमा लिएर सञ्चालनमा रोक लगाउनेछ। आयोगले मतदानका दिन सहजताका लागि आठ प्रकारका अत्यावश्यक सवारी साधनलाई पास विना नै सञ्चालनको अनुमति दिएको छ।

पास नचाहिने सवारीहरू:
आयोगले दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ र स्वास्थ्य सेवाका सवारीलाई छुट दिएको छ। यस्तै, दूरसञ्चार, विद्युत् र ढल मर्मतमा प्रयोग हुने गाडीहरू पनि पास विना चल्न पाउनेछन्। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई घरदेखि अस्पतालसम्म आउन–जान र कूटनीतिक नियोगका ‘सीडी’ नम्बर प्लेट भएका सवारीलाई पनि पास अनिवार्य गरिएको छैन।

अशक्त र ज्येष्ठ नागरिकका लागि विशेष व्यवस्था:
हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री र ज्येष्ठ नागरिकका लागि एक जना सहयोगीसहित चल्ने सवारी साधनलाई पनि आयोगले सञ्चालनको अनुमति दिएको छ। यसैगरी, प्रेस पास भएका सञ्चारकर्मी, पर्यवेक्षक परिचयपत्र भएका व्यक्ति र नागरिक उड्डयन प्राधिकरणको पास भएका कर्मचारीले पनि आफ्नो परिचयपत्रका आधारमा सवारी चलाउन पाउनेछन्।

आयोगले यी सबै छुटप्राप्त सवारीमा अनधिकृत व्यक्तिहरूलाई ओसारपसार गरी निर्वाचनको स्वच्छतामा प्रभाव पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो कडा कदम चालेको हो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर