काठमाडौँ – निर्वाचन आयोगले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा रहेका १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले मतदान सम्पन्न भएलगत्तै मतगणना प्रक्रियालाई चाँडो सुरु गर्न हिमाली तथा दुर्गम पहाडी जिल्लाका १५० मतदान केन्द्रका मतपेटिका हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार कोसी प्रदेशका सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङका १६ मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ल्याइनेछ। त्यस्तै, बागमतीका रसुवा, दोलखा र धादिङ तथा गण्डकीका गोरखा र मनाङका हिमाली क्षेत्रका मतपेटिका संकलनमा पनि हेलिकप्टर प्रयोग हुनेछ। लुम्बिनीको रुकुम पूर्व, कर्णालीका हुम्ला, डोल्पा र रुकुम पश्चिम तथा सुदूरपश्चिमका दार्चुला, बाजुरा र बझाङका विकट केन्द्रहरूमा पनि हवाई ढुवानीको व्यवस्था मिलाइएको छ।

हेलिकप्टर ढुवानीको निष्पक्षतामाथि केही राजनीतिक दलले संशय व्यक्त गरेपछि नेपाली सेनाले यसबारे स्पष्ट पारेको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मतपेटिका ढुवानी गर्दा सुरक्षा निकाय, निर्वाचन अधिकृत र दलका तोकिएका प्रतिनिधिको अनिवार्य सहभागिता रहने बताएका छन्। उनले भने, “दलहरूबीच सहमति जुटेको अवस्थामा उनीहरूका प्रतिनिधि पनि हेलिकप्टरमा रहनेछन्, यदि सहमति नजुटेमा स्थल मार्गबाटै एस्कर्टिङ गरेर मतपेटिका ल्याइनेछ।”

सेनाले सन् २०४८ देखि नै निर्वाचन सुरक्षा र ढुवानीमा समन्वय गर्दै आएको स्मरण गराउँदै कुनै पनि आशंका नगर्न आग्रह गरेको छ। निर्वाचन प्रयोजनका लागि सेनाले विराटनगर, काठमाडौँ, पोखरा र सुर्खेतमा हेलिकप्टरहरू तयारी अवस्थामा राखेको छ। बिहीबार मतदान सकिएपछि सहरी क्षेत्रमा सोही दिन र दुर्गममा शुक्रबारसम्म मतपेटिका संकलन गरी मतगणना सुरु गर्ने आयोगको लक्ष्य छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर