चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार सोविता गौतम गम्भीर विवादमा तानिएकी छन्। चुनावी अभियानका क्रममा आदिवासी जनजाति समुदायलाई लक्षित गरी ‘पैसामा बिक्ने’ भन्ने आशयको अभिव्यक्ति दिएपछि उनको तीव्र आलोचना भइरहेको छ।

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् सचिवालय चितवनले गौतमको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। महासंघले यस क्षेत्रका वीर र इमानदार आदिवासी समुदायको मानमर्दन हुने गरी गौतमले ‘निकृष्ट’ टिप्पणी गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजातिलाई पैसाले किन्न सकिने वर्ग भनी गरिएको टिप्पणीले हाम्रो स्वाभिमान र राजनीतिक चेतनाको अपमान गरेको छ।’

महासंघले यो अभिव्यक्तिले वर्षौँदेखि पहिचानका लागि लडिरहेको समुदायको भावनामा गम्भीर चोट पुर्‍याएको भन्दै तुरुन्त माफी माग्न माग गरेको छ। यदि चितवन–३ की उम्मेदवार गौतमले सार्वजनिक रूपमा माफी नमागेमा क्षेत्रभरि उनका चुनावी कार्यक्रमहरू बहिष्कार गर्ने र सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत महासंघले दिएको छ।

निर्वाचनको संघारमा आएको यो विवादले सोविता गौतमको चुनावी साखमा धक्का लाग्न सक्ने अनुमान गरिएको छ। चितवनका विभिन्न आदिवासी जनजाति संघसंस्थाहरूले पनि यस विषयलाई लिएर असन्तुष्टि जनाइरहेका छन्। हालसम्म यस प्रकरणमा रास्वपा वा उम्मेदवार गौतमका तर्फबाट कुनै आधिकारिक स्पष्टीकरण आएको छैन।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर