काठमाडौँ – विश्वका ९० भन्दा बढी देशका एक हजारभन्दा बढी विद्यालयहरूमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठित संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले नेपाली शिक्षाविद् दीप्ति आचार्यलाई सन् २०२५–२०२६ का लागि आफ्नो राजदूत नियुक्त गरेको छ। संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले अब नेपालसहित छिमेकी मुलुकहरूमा आईसीएको प्रतिनिधित्व गर्नेछिन्।
आफ्नो कार्यकालमा आचार्यले आईसीए अन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय पाठ्यक्रमहरू—आईईवाईसी, आईपीसी र आईएमवाईसीमार्फत शिक्षण सिकाइमा सुधार ल्याउन शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढीकरणमा भूमिका खेल्नेछिन्। विगत दुई दशकदेखि प्रगतिशील शिक्षाको क्षेत्रमा उनले पुर्याएको निरन्तर योगदान र समर्पणको उच्च कदर गर्दै यो जिम्मेवारी दिइएको आईसीएले जनाएको छ। आचार्यकै नेतृत्वमा संस्कृति इन्टरनेशनल स्कुल दक्षिण एसियामै प्रतिष्ठित आईपीसी मान्यता प्राप्त गर्ने पहिलो विद्यालय बन्न सफल भएको थियो।

राजदूतको रूपमा आचार्यले अब अन्य विद्यालयहरूलाई मार्गदर्शन गर्ने, आवश्यक तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनका लागि यस क्षेत्रमा सहजीकरण गर्नेछिन्। उनको नियुक्तिका विषयमा बोल्दै आईसीएकी निर्देशक सारा ब्ल्याकमोरले आचार्यको अटल प्रतिबद्धता र अनुभवले एसिया–प्रशान्त क्षेत्रका विद्यालयहरूलाई नयाँ उचाइ र प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
को हुन् दीप्ति आचार्य?
नेपालमा प्रगतिशील शिक्षाको अगुवा मानिने आचार्य एएमआई–प्रशिक्षित मन्टेश्वरी शिक्षिका हुन्। उनले अमेरिकाबाट मन्टेश्वरी शिक्षामा स्नातकोत्तर गरेकी छिन् भने विगत पाँच वर्षदेखि अन्तर्राष्ट्रिय प्रशिक्षकका रूपमा समेत सक्रिय छिन्। शिक्षाका अतिरिक्त उनी टोस्टमास्टर्स इन्टरनेशनलको विशिष्ट नेतृत्वकर्ता र जोन्टा क्लब अफ काठमाडौँको सक्रिय सदस्यका रूपमा महिला तथा बालबालिकाको अधिकारका लागि क्रियाशील छिन्।






