राजविराज, २३ माघ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क.ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको निरीक्षण तथा अनुगमनका लागि शुक्रबार राजविराज आइपुग्नुभएका एआईजी बि.क.ले कार्यालयका विभिन्न शाखाहरूको वस्तुस्थिति अवलोकन गर्नुभयो। सो क्रममा उहाँले जिल्लामा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन र अपराध अनुसन्धानमा विशेष सक्रियता देखाउन निर्देशन दिनुभयो।

आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको सन्दर्भमा बोल्दै उहाँले विशेष सुरक्षा योजना बनाएर उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन आग्रह गर्नुभयो। “निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन उचित जनशक्ति परिचालन र सीमा नाकाहरूमा हुने सम्भावित घुसपैठ तथा अवैध गतिविधि नियन्त्रणका लागि कडा चेकजाँचको व्यवस्था मिलाउनुहोस्,” उहाँले भन्नुभयो।

एआईजी बि.क.ले आम नागरिक र सेवाग्राहीसँग गरिने व्यवहारमा प्रहरी संयमित र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नि:स्वार्थ भावनाले सेवा प्रवाह गर्न र प्रहरीको छवि उच्च राख्न कर्मचारीहरूलाई सचेत गराउनुभयो। निरीक्षणकै क्रममा उहाँले निर्वाचनका लागि खटिने प्रहरी टोलीलाई स्थलगत रूपमै पुगेर उनीहरूको दायित्व र व्यावसायिक तालिमका विषयमा समेत आवश्यक मार्गदर्शन गर्नुभएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर