एसपी यादव/सर्लाही, जेठ ३१ गते । जिल्लाको बागमती नगरपालिका-९ स्थित निर्माण चोकमा टोचनले तानिएको ईभी हाईसले दुई जना पैदल यात्रुलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ, भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमका अनुसार, आइतबार बिहान करिब ६ः१० बजे बरहथवा निर्माण चोकतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ ह १८७९ नम्बरको अटोले बिग्रिएको बा.प्र.०३-००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई टोचनले तानेर ल्याइरहेको अवस्थामा दुर्घटना भएको हो । दुर्घटनामा बागमती नगरपालिका-९ निवासी ५५ वर्षीया जयकुमारी देवी र बागमती नगरपालिका-१० निवासी ४० वर्षीया पुनम देवी यादव घाइते भएका थिए । दुवै जनाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । घाइते दुवैलाई उपचारका लागि वीरगञ्जतर्फ पठाइएको थियो । उपचारकै क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया बारामा चिकित्सकले मृत घोषणा गरेका छन् । भने दुर्घटनामा घाइते भएकी पुनम देवी यादवको राजलक्ष्मी अस्पताल कलैयामा उपचार भइरहेको डिएसपी गौतमले जानकारी दिएका छन् ।

घटनापछि ईभी हाईस चालक सर्लाहीको हरिवन नगरपालिका-७ निवासी ४० वर्षीय देबेन्द्र ठाकुर तथा अटो चालक बरहथवा नगरपालिका-१३ निवासी ३३ वर्षीय विकासकुमार झासहित दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको डिएसपी गौतमले बताएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप

पत्रकार यादव राजनीतिक, खोज अनुसन्धान र समसामयिक लगायत विषयमा रिपोर्टिङ गर्छन् ।


प्रतिक्रिया!!

सम्बन्धित खबर