दमक । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा ‘हाइ-प्रोफाइल’ भिडन्त हुने निश्चित भएको छ। काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मंगलबार यस क्षेत्रबाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्न पुग्दा बालेनको समर्थनमा दमकमा हालसम्मकै विशाल जनसागर उर्लिएको थियो। युवाहरूको उल्लेख्य सहभागिता र समर्थकहरूको उत्साहले दमकको राजनीतिक माहोल एकाएक तताएको छ। बालेनको पक्षमा देखिएको यो अनपेक्षित भिडले अन्य राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरूलाई समेत आश्चर्यचकित पारेको छ।

दमकका ५२ वर्षीय स्थानीय पंकज पाण्डेका अनुसार यस्तो जनलहर यसअघि कहिल्यै देखिएको थिएन। “मैले आफ्नो उमेरमा दमकमा यति धेरै मान्छेहरू स्वतःस्फूर्त रूपमा सडकमा ओर्लिएको देखेको थिइनँ,” पाण्डेले भने, “यो जनसागर हेर्दा यसपटक यहाँको नतिजा बालेनको पक्षमा जाने संकेत देखिएको छ।”

यस क्षेत्रमा बालेनको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग हुने देखिएको छ। झापा ५ लाई ओलीको बलियो गढ मानिने भए पनि बालेनको प्रवेशले चुनावी समीकरण रोचक मोडमा पुगेको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट युवा विद्यार्थी नेता रञ्जित तामाङले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

एकातिर स्थापित शीर्ष नेतृत्व र अर्कोतिर युवाहरूको लोकप्रिय आइकनबीचको यो त्रिपक्षीय प्रतिस्पर्धाले झापा ५ लाई देशभरकै सबैभन्दा बढी चासोको निर्वाचन क्षेत्र बनाएको छ। मनोनयन दर्तासँगै बालेनका समर्थकहरूले परिवर्तनको पक्षमा नाराबाजी गर्दै चुनावी अभियानलाई तीव्रता दिएका छन्।






