राजविराज । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी बढेको छ। मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत, पूर्वमन्त्री उमेशकुमार यादव र पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहसहित कुल ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार २० वटा राजनीतिक दलका आधिकारिक प्रतिनिधि र १४ जना स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्। २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी भएका जनमत पार्टीका अध्यक्ष सीके राउतले सोही क्षेत्रबाट पुनः उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा ३५ हजार ३२ मत प्राप्त गरेका राउतका लागि यसपटकको प्रतिस्पर्धा चुनौतीपूर्ण मानिएको छ।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन्। २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका यादवले २०७४ मा पनि यसै क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए। उता, जनमत पार्टीबाट विद्रोह गरी आफ्नै भाइ नेतृत्वको स्वाभिमान पार्टीमा प्रवेश गरेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले पनि प्रतिनिधिसभाका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। २०७९ मा प्रदेशसभा सदस्य जितेर मुख्यमन्त्री बनेका सिंहले मनोनयनको पूर्वसन्ध्यामा मात्र पद र पार्टीबाट राजीनामा दिएका थिए।
सत्ता र प्रतिपक्षी दलहरूले पनि यस क्षेत्रमा आफ्ना प्रभावशाली उम्मेदवार उतारेका छन्। नेपाली कांग्रेसका तर्फबाट जिल्ला उपसभापति रामकुमार यादवले मनोनयन दर्ता गराउँदा नेकपा (एमाले) बाट मो. जियाउल रहमान चुनावी प्रतिस्पर्धामा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवा इन्जिनियर रामजी यादवलाई उम्मेदवार बनाएको छ, जो स्थानीय राजनीतिमा परिचित अनुहार हुन्।
अन्य उम्मेदवारहरूमा नेकपाका सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टीका अनिश अन्सारी, राप्रपाका अजयकुमार दास र नेमकिपाकी निलमकुमारी यादव लगायत रहेका छन्। जिल्ला खेलकुद विकास समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा दलका समर्थकहरूको बाक्लो उपस्थितिका बीच मनोनयन प्रक्रिया सम्पन्न भएको हो। मुख्य दलका शीर्ष नेताहरू नै प्रतिस्पर्धामा उत्रिएपछि सप्तरी २ को चुनावी भिडन्तलाई यसपटक निकै चासोका साथ हेरिएको छ।






