राजविराज । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार नेता तथा कार्यकर्ताहरूको विशाल जुलुससहित राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा सिंहका समर्थकहरूले पार्टीको झण्डा र नाराबाजीसहित शक्ति प्रदर्शन गरेका थिए। केही समय अघि मात्रै जनमत पार्टी र मधेश प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका सिंहले यसपटक आफ्नै भाइ सत्यवान सिंहको नेतृत्वमा रहेको स्वाभिमान पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय लिएका हुन्। उनको उम्मेदवारीमा प्रस्तावकका रूपमा रामकुमार राय र समर्थकमा रविनकुमार सिंह रहेका छन्।

राजनीतिक रूपमा अनुभवी मानिने सिंह २०७९ सालको आम निर्वाचनमा जनमत पार्टीका तर्फबाट सप्तरी २ (क) बाट १६ हजार ४३४ मत प्राप्त गरी प्रदेश सभामा विजयी भएका थिए। प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भएपछि उनले मधेश प्रदेशको मुख्यमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी समेत सम्हालेका थिए। मधेश आन्दोलनको रापतापबाटै सक्रिय राजनीतिमा उदाएका सिंहले विगतमा संगठन निर्माण र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका छन्।
निर्वाचनको मुखैमा पुरानो दल त्यागेर नयाँ दलमार्फत प्रतिनिधिसभाको यात्रा तय गर्न लागेका सिंहको उम्मेदवारीलाई सप्तरीको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनले मधेशी जनताको हकअधिकार र क्षेत्रीय विकासका मुद्दालाई आफ्नो मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा होमिएको बताएका छन्।






