झापा । आसन्न निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक सरगर्मी एकाएक बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आफ्नो उम्मेदवारी दर्ताका लागि झापा पुगेसँगै त्यहाँका मतदाता र कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। शाहले मंगलबार बिहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन पत्र बुझाउने तयारी गरेका छन्।
यो क्षेत्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र समेत हो। ओलीले पनि आजै दिउँसो १ बजे सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय भएको उनको सचिवालयले पुष्टि गरेको छ। बालेन शाहले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत आफू झापा ५ पुगिसकेको जानकारी सार्वजनिक गरेपछि समर्थकहरूको भीड लागेको हो।

एमालेका कद्दावर नेता ओली र युवा पुस्तामा लोकप्रिय बालेन शाह एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने भएपछि झापा ५ को चुनावी प्रतिस्पर्धालाई देशभर नै चासोका साथ हेरिएको छ। दुई फरक राजनीतिक धारका प्रमुख पात्रहरूबीचको यो भिडन्तले यसपटकको निर्वाचनमा नयाँ समीकरण सिर्जना गर्ने अनुमान गरिएको छ।






