कैलाली । नेपाली कांग्रेसका पूर्व नेता एवं संविधानसभा सदस्य प्यारेलाल रानाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । बिहीबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
गत वैशाखमै कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका रानाले पार्टी नेतृत्वले आदिवासी र रानाथारु समुदायलाई उपेक्षा गरेको आरोप लगाउँदै आएका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई सीमित कुलीन वर्गको घेरामा रहेको पार्टीको संज्ञा दिए । विगतका चुनावमा आफूले पार्टीका उम्मेदवारलाई जिताउन कडा मिहिनेत गरे पनि नेतृत्वले आफ्नो योगदानको अवमूल्यन गरेको र हारको दोष मात्रै थोपरेको उनको गुनासो छ ।

विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाप्रति लक्षित गर्दै उनले आफूमाथि लगाइएका आक्षेपहरूको जवाफ अब जनताले दिने बताए । कांग्रेससँगको यात्रा टुङ्गिए पनि आफू गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूको रक्षाका लागि प्रतिबद्ध रहेको रानाको भनाइ छ ।
कैलाली ५ मा रानाथारु समुदायको निर्णायक मत रहेको भए पनि यसपटक प्रमुख दलहरूले सो समुदायबाट उम्मेदवार नबनाएको अवस्थामा आफूलाई मतदाताले न्याय गर्ने उनको दाबी छ । आफ्नो समुदायको अधिकार र यस क्षेत्रको बृहत्तर विकासका लागि नै आफू चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे ।






