काठमाडौँ । अभिनेत्री रीमा विश्वकर्माले आफ्नो राजनीतिक यात्रा र आफूमाथि लागेको ‘अवसरवादी’ को आरोपबारे मुख खोलेकी छन् । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध छिन् ।
उज्यालो नेपाल पार्टी रास्वपामा समाहित हुँदा रीमालाई दलित महिला क्लस्टरतर्फ समानुपातिक सांसदको सूचीमा पहिलो नम्बरमा राखिएको थियो । पछि कुलमानको पार्टी रास्वपाबाट अलग भए पनि रीमा भने रास्वपामै रहने निर्णयमा पुगिन् । यही विषयलाई लिएर उनलाई पद र अवसरका लागि पुरानो साथ छोडेको भन्दै आलोचना भइरहेको छ ।

हालै रास्वपा कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथि लागेको आरोपको प्रतिवाद गरिन् । ‘जनताको प्रतिनिधि पात्र भएपछि उचित समयमा देश र जनतालाई केन्द्रमा राखेर निर्णय लिन सक्नुपर्छ,’ उनले भनिन्, ‘चाहे त्यो राजनीतिक संकट होस् वा नैतिक चुनौती, जनताको एकताको चाहनालाई मध्यनजर गर्दै मैले रास्वपाबाटै अघि बढ्ने निर्णय गरेकी हुँ ।’
रीमाले आफूलाई राजनीतिमा आउने र नेतृत्व लिने अवसर दिएकोमा कुलमान घिसिङप्रति आभार समेत व्यक्त गरेकी छन् । उनले उज्यालो नेपाल पार्टीले दिएको जिम्मेवारी र अवसरलाई अझै प्रमाणित गर्न बाँकी नै रहेको उल्लेख गरिन् ।
उनी हाल रास्वपाका विभिन्न चुनावी सभा र कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी भइरहेकी छन् ।






