काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशका अधिकांश क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। शनिबार करिब ७ घण्टा लामो समयसम्म चलेको पार्टी सचिवालयको बैठकले उम्मेदवारहरूको नामलाई अन्तिम रूप दिएको हो।

बैठकपछि जानकारी दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले केही विवादित वा बाँकी रहेका क्षेत्रहरूमा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप गृहकार्य गरी नाम सार्वजनिक गर्ने बताउनुभयो। निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएकाले एमालेले त्यसअघि नै देशभरका आकांक्षीहरूमध्येबाट उम्मेदवार छानेको हो।

प्रमुख उम्मेदवारहरू र क्षेत्र

एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः झापा क्षेत्र नम्बर ५ बाटै चुनावी मैदानमा उत्रिने हुनुभएको छ। यस्तै, पार्टीका अन्य प्रभावशाली नेताहरूमा सुदूरपश्चिमबाट लेखराज भट्ट (कैलाली–४), गण्डकीबाट पृथ्वीसुब्बा गुरुङ (लमजुङ) र लुम्बिनीबाट प्रदीप ज्ञवाली (गुल्मी–१) तथा गोकर्ण विष्ट (गुल्मी–२) को नाम टुंगो लागेको छ।

प्रदेशगत मुख्य उम्मेदवारहरूको सूची:

१. कोशी प्रदेश: इलाम–२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्र राई, भोजपुरबाट शेरधन राई र सुनसरी–४ बाट भगवती चौधरीलाई टिकट दिइएको छ। झापाका केही क्षेत्र र मोरङका क्षेत्र नं ५ र ६ मा भने नाम तय हुन बाँकी छ।

२. मधेश प्रदेश: धनुषामा रघुवीर महासेठ र जुली महतो चुनावी प्रतिस्पर्धामा उत्रिनेछन्। बारा–४ बाट हालै एमाले प्रवेश गरेका किसान श्रेष्ठले टिकट पाएका छन् भने सिराहा–३ बाट लिलानाथ श्रेष्ठ उम्मेदवार बनेका छन्।

३. बागमती प्रदेश: काठमाडौँका १० मध्ये क्षेत्र नं १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाल र १० मा विनोद श्रेष्ठको नाम पक्का भएको छ। बाँकी केही क्षेत्रमा छलफल जारी छ। चितवन–२ मा अस्मिन घिमिरे र मकवानपुर–२ मा महेश बर्तौला उम्मेदवार तोकिएका छन्।

४. गण्डकी प्रदेश: कास्कीका तीनवटै क्षेत्रमा क्रमशः बैणबहादुर क्षेत्री, कृष्ण थापा र दामोदर बैरागीलाई चयन गरिएको छ। पर्वतबाट पदम गिरी र गोरखा–१ बाट आर.सी. लामिछानेले प्रतिस्पर्धा गर्नेछन्।

५. लुम्बिनी प्रदेश: रुपन्देही–३ मा बासुदेव घिमिरे र ५ मा खिमलाल भट्टराईले टिकट पाउँदा पाल्पा–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नुभएको छ। दाङका केही क्षेत्रमा अझै निर्णय हुन बाँकी छ।

६. कर्णाली र सुदूरपश्चिम: सुदूरपश्चिमको बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाले निरन्तरता पाएका छन्। कर्णालीको दैलेख–१ बाट रविन्द्रराज शर्मा र सल्यानबाट गुलाबजंग शाहलाई उम्मेदवार बनाइएको छ।

विशेष नोट: केही जिल्लाका बाँकी रहेका क्षेत्र र थप छलफल आवश्यक भएका स्थानहरूको नामावली अध्यक्ष ओलीले बालकोटबाटै अन्तिम निर्णय गरी सार्वजनिक गर्ने पार्टी स्रोतले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर