फायल तस्वीर ।

राजविराज,१७ पुस । सप्तरीको राजविराज नगरपालिका–१६ स्थित बोरियामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । सखडा–राजविराज भित्री सडक खण्डमा बुधबार साँझ भएको उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका राजगढ गाउँपालिका–६, इनर्वाका २६ वर्षीय आकबर खानको मृत्यु भएको हो ।

बुधबार साँझ करिब ८ बजेको समयमा सखडाबाट राजविराजतर्फ आउँदै गरेको १ त १२६६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०१–००४ प ३७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर चोट लागेका खानलाई तत्कालै राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा सोही राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय तजमुल मियाँ समेत घाइते भएका छन् । स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि उनको अवस्था जटिल देखिएकाले थप उपचारका लागि विराटनगर पठाइएको छ । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार मियाँको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र हाल उनको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर चालक विष्णुपुर गाउँपालिका–१, जमुनी मधेपुरा निवासी ४७ वर्षीय महेशप्रसाद यादवलाई सोही राति नियन्त्रणमा लिएको छ ।

“हामीले चालकलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ,” डिएसपी पुरीले जानकारी दिए, “जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे विस्तृत अध्ययन भइरहेको छ ।”

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर