बारा,१६ पुस । बाराको भारतीय सीमासँग जोडिएको सिम्रौनगढ क्षेत्रमा प्रहरीले लागूऔषध ओसारपसारविरुद्ध कारबाही गर्दै १० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरू मोटरसाइकल प्रयोग गरी गाँजा सार्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव साहले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरू पचरौता नगरपालिका–३ रामनगर टोलका ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल हुन्। उनीहरू सीमावर्ती बाटो हुँदै गाँजा लैजाने प्रयासमा थिए।

मंगलबार राति करिब सवा ८ बजेतिर गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले निगरानी कडा बनाएको थियो। प्रहरी सहायक निरीक्षक बालाराज गिरी र प्रहरी सहायक निरीक्षक विश्वराज कुशवाहाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा अमृतगन्ज प्रहरी चौकीबाट संयुक्त टोली परिचालन गरिएको थियो।
सोही क्रममा सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थान रामनगर क्षेत्रबाट डाट गाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा झोलाभित्र लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। तौल गर्दा उक्त गाँजा करिब १० किलो रहेको पुष्टि भएको थियो।
प्रहरीले गाँजासहित मोटरसाइकल र दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ। सीमावर्ती क्षेत्रमा लागूऔषधको कारोबार रोक्न निगरानी र कारबाही अझ कडा बनाइने प्रहरीको भनाइ छ।






